समाज


प्रेस काउन्सिलको पुरस्कारमा भागबन्डा, दलको प्रचार विभागमा बसेकाहरू पनि योग्य

प्रेस काउन्सिलको पुरस्कारमा भागबन्डा, दलको प्रचार विभागमा बसेकाहरू पनि योग्य

नेपालखबर
असोज ५, २०८० शुक्रबार १०:४७, काठमाडौँ

प्रेस काउन्सिल नेपालले आफ्नो ५४ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ।

काउन्सिलले विभिन्न शीर्षकमा घोषणा गरिएका अधिकांश पुरस्कारमा दलीय भागबन्डा गरिएको छ।

विभिन्न विधागत शीर्षकमा घोषित पुरस्कारका लागि नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन नेपालबीच भागबन्डा भएको हो।

उक्त भागबन्डाका क्रममा पत्रकारिता छाडिसकेका दलका कार्यकर्तालाई पनि काउन्सिलले पुरस्कार घोषणा गरिसकेको छ।

लामो समय पत्रकारिता गरेर हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सुर्खेतका मोती पौडेललाई पनि काउन्सिलले सम्मानित हुने १६ जनाको सूचीमा राखेको छ। 

जहाँ मुख्य तीन ठूला पार्टीको प्रचार विभाग र अन्य विभागीय नेतृत्वमा रहेका नेताहरु पनि परेका छन्। त्यही सूचीको १२ औँ नम्बरमा सम्मानित हुने सूचीमा रहेका पौडेलले उक्त पुरस्कार नलिने घोषणा गरेका हुन्।

‘प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान गर्ने सूचीमा मेरो नाम पनि समावेश भएकोमा प्रेस काउन्सिल नेपाल र उक्त निर्णयमा सहभागी सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद’, उनले भनेका छन्, ‘तर, म विगत लामो समयदेखि मूलधारको पत्रकारितालाई बिट मार्दै पार्टी राजनीतिमा सक्रिय रहेर हाल नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य छु।’

त्यहीकारण उनले उक्त सम्मान नलिने जनाएका छन्। ‘कांग्रेसको राजनीतिमा रहेको हुनाले प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान नलिने कुरा जानकारी गराउँछु। 

काउन्सिलले वितरण गर्ने घोषणा गरिएका अन्य पुरस्कारमा पनि तीन ठूला दलनिकट तीन पत्रकारका संगठनले भागबन्डा गरेका हुन्। 

पत्रकारिता छाडेर कांग्रेस, एमाले र माओवादीको प्रचार विभागको नेतृत्वमै रहेर काम गरिरहेका नेताहरुलाई पनि काउन्सिलले पुरस्कृत र सम्मानित गर्ने घोषणा गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .