समाज


यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ ३१, २०८०, आइतबार , काठमाडौँ

अहिले बिहान देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला कोशी, मधेश र बागमती प्रदेशमा मौसम आंशिक बदली छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। 

‘अहिले बिहान वर्षा भने देशभर कतै भएको छैन’, उनले भनिन्। 

यस्तै काठमाडौं उपत्यकाको मौसम यतिबेला आंशिक बदली छ। ‘अपराह्नपछि छिटपुट हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार  दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही  स्थानमा साथै देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यसैगरी राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

आजलाई भारी वर्षाको सम्भावना भने कतै नदेखिएको मौसमविद् मानन्धरले बताइन्। 

महाशाखाले आगामी  २४  घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी  तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशका पहाडी भूभागका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

भदौ ३१, २०८०, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .