ad ad

समाज


सबै प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी पनि आउने अनुमान

सबै प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी पनि आउने अनुमान

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ ३०, २०८० शनिबार ८:२२, काठमाडौँ

यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यसम्म तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यतिखेर (शनिबार बिहान ८ बजे) सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने हल्का वर्षा पनि भइरहेको छ। 

काठमाडौं उपत्यकाको मौसम
मौसमविद् लामिछानेका अनुसार अहिले (शनिबार बिहान) काठमाडौं उपत्यकामा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। यसको अर्थ उपत्यकामा घाम लागेको छ भने कतै कतै बादल पनि देखिएको छ। 

अपराह्नपछि भने बादल बढ्दै गएर हल्का वर्षा हुने थोरै सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए। ‘राति पनि हिजोको जस्तै हल्का वर्षा हुनसक्छ’, उनले भने। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो हावाहुरी पनि आउने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी  २४  घण्टा (आइतबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श  पनि जारी गरेको छ। 

जसमा भनिएको छ– गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने,  गेग्रान बहाव,  बाढी,  पहिरो,  भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य,  कृषि,  दैनिक जनजीवन,  सडक तथा हवाई यातायातमा  हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। 

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .