हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर छ भने भारतको पूर्वी मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव पनि नेपालको मौसम परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिकदेखि सामान्य बदली भई बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार मौसम सफा भनेको पूरै आकाश छ्याङ हुनु, मुख्यतया सफा भनेको २५ प्रतिशत आकाशमा बादल, आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु, साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल, अधिकांश बदली भनेको ७६ देखि ८८ प्रतिशतसम्म आकाश बादलले ढाक्नु र पूर्ण बदली भनेको ७६ प्रतिशतदेखि ८८ प्रतिशतसम्म आकाशमा बादल हुनु हो।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
Shares
प्रतिक्रिया