ad ad

समाज


पाठेघर मुखको क्यान्सरविरुद्ध खोप आजदेखि, सातै प्रदेशमा १४–१५ वर्षका किशोरीलाई लगाइँदै

पाठेघर मुखको क्यान्सरविरुद्ध खोप आजदेखि, सातै प्रदेशमा १४–१५ वर्षका किशोरीलाई लगाइँदै

रासस
भदौ २७, २०८० बुधबार १०:७, काठमाडौँ

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिइँदै छ। सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो। खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन्। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन खोप दिइन थालिएको जानकारी दिए। उनका अनुसार ६ प्रदेशका छवटा अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपीभी खोप दिइनेछ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप लगाइने छ। खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ।

आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ। पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। शाखाका प्रमुख डा गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्‍याइसकिएको बताए। सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन २० हजार मात्रा खोप चीनबाट ल्याएको हो। 

महाशाखाका निर्देशक डा विवेककुमार लालले विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए। यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ। नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ।

सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ (६६ दशमलव ५ प्रतिशत) को मृत्यु भएको छ। पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ। महिलामा असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। 

एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन्। खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .