काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरपालिका, विरामी र अस्पताल दुवैका लागि सरकार भएको उल्लेख गर्दै दुवैका मर्का सुन्ने र दुवैलाई बचाउने बताएका छन्।
लक्षित वर्गलाई अस्पतालहरुले उपलब्ध गराउनु पर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा सामुदायिक अस्पतालका सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा प्रमुख शाहले, यस्तो धारणा राखेका हुन्।
कानुन बनाउँदा स्थानीय आवश्यकता र समस्या नहेरी अन्यत्रबाट सारेर ल्याउने पद्धतिका कारण कानुन कार्यान्वयनमा जटिलता भएको उल्लेख गर्दै उनले आफ्नै अवस्था र आफ्नै समस्यालाई हेरेर कानुन बनाउनु पर्ने र बनाइएका कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने बताए।
लक्षित वर्गको निःशुल्क उपचार सम्बन्धी व्यवस्थाको कार्यान्वयन कसैलाई अप्ठ्यारो पार्न होइन, कानुनले गर्नु भनेका काम गर्न गराउन खोजिएको हो।
प्रमुख शाहले महानगरपालिकाले तर्जुमा गर्न लागेको कार्यविधिमाथि विषयगत समूहमा छलफल गरेर सुझाव प्राप्त गर्न र प्राप्त भएको सुझावलाई समेटेर कार्यान्वयन योग्य प्रबन्ध राख्न आग्रह गरे।
डिलक्स कक्षमा बसेर उपचार गराउने, पछि फोन गराएर छुटका लागि दबाब दिने पद्धति गलत रहेको बताउँदै प्रमुख शाहले गलत प्रक्रियाका लागि सिफारिस गर्ने परिपाटी महानगरपालिकाले अन्त्य गर्ने बताए।
Shares

प्रतिक्रिया