समाज


इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

नेपालखबर
भदौ २६, २०८० मंगलबार २१:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायलले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ।

इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले आज राष्ट्रपति भवन शीतलनिवासमा बिपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बिपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए। 

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा ‘इन्टरनेशलन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स’ को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बिपी कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहारस्वरूप हस्तान्तरण गरेका हुन्।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बिपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँंदा खुसी लागेको बताउनुभएको सल्लाहकार पोखरेलले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकामा हर्षित हुँदै धन्यवाद दिएका थिए।

‘फरक खालको स्थिति भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन्। त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ’, बीपीको सो भाषण उद्धृत गर्दै पोखरेलले भने, ‘सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ । सुस्तगतिमा हुने प्रगतिले सङ्घर्ष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ।’ 

प्रजातन्त्र राजनीतिक प्रणालीका रूपमा वा जीवन पद्दति प्रयोगका रूपमा यी देशहरूमा परिक्षणका रूपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गरेका छन्।

राजदूत गोदेरसँगको भेटमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकामा खुशी व्यक्त गरेका थिए। उनले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad