ad ad

समाज


आजको मौसम अनुमान : काठमाडौंसहित देशभर वर्षा हुने, तराईमा हावाहुरी पनि आउने

आजको मौसम अनुमान : काठमाडौंसहित देशभर वर्षा हुने, तराईमा हावाहुरी पनि आउने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
भदौ २२, २०८० शुक्रबार ७:४२, काठमाडौँ

आज (शुक्रबार) देशभर मौसम बदली र वर्षा तथा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतिबेला (शुक्रबार बिहान) भने देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई कोशी प्रदेशका केही तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षा भएको देखिन्न’, उनले भनिन्।  

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

यस्तै राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी  प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। वर्षाका कारण उक्त क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिमलगायत चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कस्तो छ? 
मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ। 

‘दिउँसोतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .