समाज


सडकसँगसम्बन्धी ९ निकायका हाकिमलाई मन्त्री ज्वालाले भने : तपाईंहरुको लापरबाही टुलुटुलु हेरेर बस्न सक्दिनँ

सडकसँगसम्बन्धी ९ निकायका हाकिमलाई मन्त्री ज्वालाले भने : तपाईंहरुको लापरबाही टुलुटुलु हेरेर बस्न सक्दिनँ

सरोकारवालाको छलफलमा मन्त्री ज्वाला। तस्बिर : भौतिक मन्त्रीको सचिवालय


नेपालखबर
भदौ १८, २०८० सोमबार १२:३२, काठमाडौँ

राज्यका निकायबीच गतिलो समन्वय नहुँदा जिर्ण बनेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन्। 

सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमण कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए।

‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल विधुत् प्राधिकरणले खन्छ। फेरि कालोपत्रे गरिन्छ, लगत्तै टेलिकमले खन्छ, फेरि कालोपत्रे गरिन्छ, लगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखाले खन्छ, यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने,‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।’

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईँ, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सहभागी थिए। 

मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। 

बैठकमा नेपाल विधुत् प्राधिकरणका महानिर्देशक घिसिङले काम सम्पन्न  भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए। 

काठमाडौं उपत्यकाभित्र विद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउन्ड गरिरहेको छ। ३२ वटा सडकको ५० किलोमिटरमा काम थाले पनि केही स्थानमा मात्रै सम्पन्न भएको छ।

सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन। अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ। खानेपानी लिमिटेडले पनि पाइप विछ्याएपछि सडक सुधार गरेको छैन। 

नेपाल टेलिकमले पनि केही सडकहरुमा टेलिफोनको तार बिछ्याउने काम गरिरहेको छ। 

सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री ज्वालाले बैठकमा आक्रोश पोखेका थिए। 

‘तपाईंहरु काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन’, मन्त्री ज्वालाले भने, ‘अब म आफँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad