ad ad

समाज


प्रहरीले सार्वजनिक गर्‍यो पहिचान नखुलेका ७४ शव र हराएका झण्डै ६ हजार जनाको विवरण

आईजीपीको विश्वास– सनाखत गर्न सहज र सक्षम हुनेछ
प्रहरीले सार्वजनिक गर्‍यो पहिचान नखुलेका ७४ शव र हराएका झण्डै ६ हजार जनाको विवरण

नेपालखबर
भदौ १७, २०८० आइतबार १८:३४, काठमाडौँ

नेपाल प्रहरीले लामो समयदेखि पहिचान खुल्न नसकेका शव र हराएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरेका हुन्। 

यी विवरण राखिएको वेबसाइट udb.nepalpolice.gov.np को आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा उद्घाटन गरिएको छ। वेबसाइटमा शनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७ सय ७६ जनाको विवरण राखिएको छ।

हराएका व्यक्तिहरूको फोटोसहितको विवरण वेबसाइटमा राखिएको छ। 

वेबसाइट उद्घाटन गर्दै महानिरीक्षक कुँवरले निर्माण भएको वेबसाइटको सुरक्षा गर्दै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए। 

वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास आईजीपी कुँवरले गरेका छन्। 

नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताएका छन्। 

कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा. श्रीधर मरासैनीले वेबसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिएका थिए।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गरिएको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको हो। 

पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आइतबारबाट प्रयोगमा आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .