ad ad

समाज


रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:१७, काठमाडौँ

नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यसमिति सदस्य एवं हिमालय टेलिभिजनका संवाददाता राकेश यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

अवैध रूपमा सञ्चालित क्रसर उद्योगका बारे समाचार संकलन गर्ने क्रममा भाद्र ४ गते सोमबार रौतहटको बृन्दावन–३ स्थित शिवम क्रसर उद्योग पुगेका पत्रकार यादवदलाई सोही क्रसरका सञ्चालक दिपक साहको निर्देशनमा राजदेव ठाकुर, राधेश्याम यादव र महेश चौधरीले दुर्व्यवहार र कुटपिट गरेको महासंघ रौतहट शाखाले जनाएको छ।
 
महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यसैगरी प्रकाशित समाचारको विषयलाई लिएर चितवनमा पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ चितवन शाखाका अनुसार साउन ३१ गते चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले ठक्कर दिई भएको दुर्घटनाको सन्दर्भमा भदौ ४ गते सोमबार विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।
 

सोही विषयलाई लिएर उक्त कलेजका सञ्चालक तथा प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा गएको टोलीले चितवन पोष्ट दैनिक र नारायणी अनलाइनको कार्यालयमा प्रवेश गरी पत्रकार गोविन्द अर्याल र राजु चौधरीलगायतका पत्रकार एवं सञ्चारकर्मीलाई दुर्व्ययवहार गर्दै धम्की दिएको शाखाले जनाएको छ।  

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प छ। यसलाई लत्याएर गुण्डागर्दी शैलीमा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुनविपरीतको काम हो’ महासंघले भनेको छ, ‘महासंघ स्वतन्त्र पत्रकारितामाथिको यो ज्यादतीमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .