समाज


महरा-पुत्र राहुलले सुन तस्करसँग फोन संवाद भएको स्वीकारे, तर तस्करीमा संलग्न नभएको जिकिर

महरा-पुत्र राहुलले सुन तस्करसँग फोन संवाद भएको स्वीकारे, तर तस्करीमा संलग्न नभएको जिकिर

फाइल फाेटाे : राहुल महरा (छोरा) र माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा (बाबु)


नेपालखबर
साउन २९, २०८० सोमबार २१:२४, काठमाडौँ

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग आफूहरूको फोन सम्पर्क भएको स्वीकार गरेका छन्। तर कसैसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न भएको भन्नु गलत हुने जिकिर पनि उनले गरेका छन्। 

महराका बाबु–छोराले सुन तस्करसँग पटकपटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको भनी समाचार आएपछि राहुलले आपत्ति जनाएका हुन्। 

महरा-पुत्र राहुलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।’

त्यसो त आफूहरूले यस विषयको अनुसन्धानमा सहयोग गर्ने भनेर भनिसकेको उल्लेख गर्दै उनले अपराध पुष्टि भए आफूहरू कानुनबमोजिम कारबाही भोग्न पनि तयार रहेको बताएका छन्। 

उनले भनेका छन्, ‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागीदार हुनेछौँ।’ 

यस्तो छ राहुल महराको पूरा भनाइ

हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफैँ न्यायालय बन्न खोज्नु हो। सञ्चारमाध्यमबाट एकोहोरो आक्रमण हुनुको पछाडि हामीले बुझ्न सकेका छैनौँ। 

हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।

राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागीदार हुनेछौँ। 
२०८०/०४/२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad