ad ad

समाज


आजदेखि पानी पर्न कम हुने

आजदेखि पानी पर्न कम हुने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन २९, २०८० सोमबार ७:११, काठमाडौँ

आज (सोमबार) देखि पानी पर्न केही कम हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् बिनु महर्जनका अनुसार आज हिजो (आइतबार) जस्तो धेरै ठाउँमा भारी वर्षा, धेरै भारी वर्षा र अति भारी वर्षाको सम्भावना छैन।

‘आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र एक दुई ठाउँमा मात्र भारी वर्षाको सम्भावना छ’, उनले भनिन्। 

शनिबार रातिदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको थियो भने कतिपय स्थानमा धेरै भारी र अति भारी वर्षासमेत भइरहेको थियो। 

तर आजदेखि त्यो क्रम घटेर जाने सम्भावना देखिएको मौसमविद्को भनाइ छ।

‘अहिलेसम्मको अनुमानमा आगामी तीन दिन (बुधबारसम्म) भारी वर्षाको सम्भावना धेरै देखिएको छैन’, मौसमविद् महर्जनले भनिन्। 

उनका अनुसार यतिबेला (सोमबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा मात्र भइरहेको छ। ‘अरू ठाउँमा पानी परेको देखिन्न’, मौसमविद् महर्जनले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुनसक्छ। 

यस्तै राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

तर पनि पहिलेकै भीषण वर्षाले जमिन गलिसकेका कारण अब कम पानी परे पनि बाढी, पहिरोको जोखिम भने रहन्छ।

यसै क्रममा महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .