समाज


फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली

फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली

नेपालखबर
माघ ६, २०७६ सोमबार १:७,

देशभर वर्षा र हिमपात गराएको शक्तिशाली न्यून चापीय प्रणाली बाहिरिएको एक दिन पनि नबित्दै फेरि त्यसैको अर्काे नयाँ प्रणाली नेपाल प्रवेश गर्दै छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी वायुबाट विकसित नयाँ न्यून चापीय प्रणाली आज (सोमबार) दिउँसो प्रवेश गर्ने सम्भावना देखिएको हो।

‘यसको सामान्य प्रभाव देशका पश्चिमी र मध्य क्षेत्रमा सुरु भइसकेको छ,’ मौसमविद् बासीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘तर यो हिजो अस्तिको जति शक्तिशाली खालको होइन, यसले धेरै प्रभाव पार्दैन।’

उनका अनुसार त्यसैको प्रभावले अहिले पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा मौसम आंशिक (आकाशमा थोरै बादल) बदली भएको छ।

‘आज दिउँसो पश्चिम र मध्य क्षेत्रका पहाडी क्षेत्रमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ,’ उनले भनिन्, ‘पूर्वी क्षेत्रमा भने पानी पर्ने सम्भावना देखिन्न।’

तराईमा बाक्लो हुस्सु/कुहिरो
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराई क्षेत्रमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। जसले गर्दा बढेको चिसोका कारण तराईको जनजीवन कष्टकर भएको छ।

यस्तै काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि अहिले बिहान कतै कतै कुहिरो देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन्।

‘पहाडमा लागेको कुहिरो घाम लागेसँगै बिहान १०/११ बजेदेखि हट्छ,’ उनले भनिन्, ‘तर तराईमा लागेको हुस्सु कुहिरोचाहिँ अलि समय रहन्छ।’

उनका अनुसार तराईमा लागेको हुस्सु/कुहिरो दिउँसो वा अपराह्नपछि हट्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानमा हुस्सु/कुहिरोसमेत रहने भएकाले चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ।

काठमाडौंमा पानी पर्छ कि पर्दैैन?
अहिले काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ।

तर आजलाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताइन्।

उनका अनुसार काठमाडौंमा आज घाम लाग्ने छ। ‘तर घाम बादल घाम बादल हुने देखिन्छ,’ उनले भनिन्।

आज बिहान ५४५ को रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्।

यसअघिको शक्तिशाली पश्चिमी न्यून चापीय प्रणालीले केही दिन देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात तथा अन्य स्थानमा वर्षा गराएको थियो।

हिमपात र वर्षाकै कारण कतिपय स्थानमा राजमार्ग तथा हवाई सेवासमेत अवरुद्ध भएका थिए भने केही हिमाली जिल्लामा हिमपहिरो जाँदा नेपालीसहित केही पर्यटक बेपत्ता छन्। जसकाे खाेजी जारी छ।

उक्त न्यून चापीय प्रणाली हिजाे मात्रै नेपालबाट बाहिरिएकाे थियाे। तर फेरि त्यसैकाे नयाँ प्रणाली साेमबार भित्रिन लागेकाे हाे। 

आगामी तीन दिनको मौसम पूर्वानुमान 
माघ ६ गते (सोमबार) 
दिउँसो 
: पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना छ।

राति : देशका पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ७ गते (मंगलबार)
दिउँसो 
: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ८ गते (बुधबार)
दिउँसो :  
पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा हुस्सुरकुहिरो रहनेछ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ।

राति : पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ।

स्राेतमौसम पूर्वानुमान महाशाखा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad