डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए।
यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे।
त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे।
तर झण्डै एक महिनाको रस्साकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नी सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए।
पार्टीभित्रको समीकरणमा अप्ठेरोमा परेपछि ओली पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन बाध्य भएका खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।
पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमले अर्का अध्यक्षलाई साथ दिए।
ओलीले टाउको गनेर आफूमाथि दबाब दिन खोजेको भन्दै अन्य नेताहरुमाथि आपत्ति पनि प्रकट गरे।
तर, भैँसेपाटी गठबन्धनमा सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टीभित्रको मनोविज्ञान सम्बोधन गर्ने निष्कर्षमा पुगे।
र, सचिवालय बैठकबाट अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय भयो।
यो निर्णयको सन्देश के हो? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन।’

प्रतिक्रिया