समाज


काठमाडौं महानगरले थाल्यो पोलिथिन झोला प्रतिबन्ध अभियान

नगर प्रहरी र वातावरण विभागका पाँच टोली परिचालित
काठमाडौं महानगरले थाल्यो पोलिथिन झोला प्रतिबन्ध अभियान

नेपालखबर
साउन १२, २०८० शुक्रबार १७:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा पातला पोलिथिन झोला प्रयोगमा निषेध गर्न थालेको छ। 

काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका वस्तु तथा सामग्री सहरभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको हो।

उक्त प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरेको छ। 

प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइएको महानगरले जनाएको छ। 

टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच थालेको छ। यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्न थालिएको हो। 

प्लाष्टिकका फूल र प्लाष्टिकका सजावटका सामान प्रयोग गर्नै नदिने महानगरले नीति लिएको छ। 

महानगरले टोली अनुगमनमा आएर जफत गर्नुअघि नै आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले त्यस्ता कार्य गर्न नहुने भनेको छ।

काठमाडौं सहरमा उत्पादन हुने फोहोरमध्ये ७५.५ प्रतिशत जैविक र २४.५ प्रतिशत नकुहिने फोहोर रहेको महानगरले जनाएको छ।

नकुहिने फोहोरको सबैभन्दा धेरै प्लाष्टिक ६.५ प्रतिशत रहेको छ। त्यसैगरी यसको पनि ३.८ प्रतिशत पोलिथिन झोला रहेको महानगरले जनाएको छ। नकुहिने अन्य फोहोरमा धातु, शिशा, रबर, कपडाजन्य, विद्युतीय र अन्य फोहोर रहेको महानगरले उल्लेख गरेको छ।

काठमाडौं उपत्यकाका नदीलाई प्रदूषित गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका रहेको महानगरले उल्लेख गरेको छ। काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने महानगरले जनाएको छ।

यसअघि प्लाष्टिकजन्य बस्तुको उत्पादन तथा उपयोगकाकारण वातावरण र जनस्वास्थ्यमा प्रतिकुलता भइ व्यक्तिको स्वस्थ्य रुपमा बाँच्न पाउने अधिकार कुण्ठित भएको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो।

त्यसपछि सर्वोच्चले परीक्षणसिद्ध तथ्य र वैज्ञानिक निष्कर्षसहित निर्णय हुनुपर्ने जनाउँदै विज्ञ टोली गठन गरी प्रतिवेदन दिन २०६१ साल मंसिर ८ गते निर्देशात्मक आदेश दिएको थियो। 

काठमाडौँ महानगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउन १ गतेबाट प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित गरेको थियो। त्यहीअनुसार महानगर कारबाहीमा उत्रिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad