ad ad

समाज


आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
साउन १२, २०८० शुक्रबार ७:९, काठमाडौँ

देशभर मौसम बदली (आकाशमा बादल) र पानी पर्ने क्रम जारी छ। अहिले (शुक्रबार बिहान) पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी र बागमती प्रदेशका थोरै स्थान तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। 

‘आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न’, उनले भने, ‘लगातार झरी नपरे पनि पानी पर्ने रोकिने, फेरि पर्ने क्रम चलिरहने देखिन्छ।’ 

मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने छ। 

यस क्रममा दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै कोशी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यस क्रममा राति कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ, ‘कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  समेत सम्भावना छ। यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना
मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो तथा राति बागमती प्रदेशका पनि एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले काठमाडौं उपत्यकामा पनि त्यो सम्भावना देखिन्छ।

‘काठमाडौं उपत्यकाभर एकनासको छैन, कुनै कुनै स्थानमा भारी वर्षा पनि हुनसक्छ’, उनले भने। 

मौसमी भाषाको अर्थ

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .