ad ad

समाज


अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक हिमपहिराे बीचमा

अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक हिमपहिराे बीचमा

नेपालखबर
माघ ४, २०७६ शनिबार ५:५७,

कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा बेपत्ता तीन नेपालीसहित ७ विदेशी पर्यटकको खोजी भइरहेको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शनिबार बिहान दिएको जानकारीअनुसार अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्।

उनका अनुसार उनीहरूको खोजीका लागि पोखराबाट तीन/चारवटा हेलिकोप्टर उद्धार टोली लिएर उडेका छन्।

‘हेलिकोप्टरबाट हेर्दा माछापुच्छ्रे बेस क्याम्पमा पनि सय जनाजति पर्यटक बाटो अवरुद्ध भएर अलपत्र परेको देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी केसीले नेपालखबरसँग टेलिफोनमा भने।

पदमार्गमा गएका उनीहरू दुवैतर्फ हिमपहिरो गएपछि बीच बाटोमै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। ‘अहिलेसम्म उनीहरू सुरक्षित नै देखिएका छन्, बाटो खुल्ने स्थिति आएन भने उनीहरूलाई पनि हेलिकोप्टरबाटै उद्धार गर्ने तयारी भइरहेकाको छ,’ उनले भने। 

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार उता अन्नपूर्ण पदमार्गमा गएका ९ जना कोरियाली पर्यटकमध्ये ४ र ३ जना नेपाली शुक्रबार दिउँसोदेखि हराइरहेका छन्। ५ काेरियालीकाे भने हिजै उद्धार गरिएकाे उनले बताए। 

‘त्यस्तै शुक्रबार दिउँसो ३/४ बजेतिरदेखि उनीहरू बेपत्ता छन्,’ उनले भने, ‘उनीहरू हिमपहिरोमा परेको आशंका गरिएको छ।’

तिनकाे खाेजी गर्न शनिबार बिहान हेलिकाेप्टरसहित जाने क्रममा उद्धार टाेलीले माछापुछ्रेमा बेस क्याम्पमा पनि सय जनाजति पर्यटक यता न उता भएर अलपत्र परेकाे देखेका हुन्। 

सम्पर्कविहीन भएका कोरियाली नागरिकमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन छन्। 

यसैगरी हिमपहिरोमा हराइरहेका तीन नेपालीमध्ये सरोज परियारको मात्र नाम खुलेको छ। बाँकी दुईको परिचय खुल्न बाँकी छ।

यही जनवरी १५ देखि ट्रेकिङ थालेका उनीहरु हिम्कु भन्ने ठाउँमा पहिरोमा परेको आशंका गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .