ad ad

समाज


मिटर ब्याजबाट मुक्ति खोज्न मृत्यु रोजे, थपियो श्रीमती र दुई छोराको वियोग

मिटर ब्याजबाट मुक्ति खोज्न मृत्यु रोजे, थपियो श्रीमती र दुई छोराको वियोग

दीपक खरेल
माघ ३, २०७६ शुक्रबार ११:५१,

‘मिटर ब्याज’बाट मुक्ति पाउन तराईका दुई जिल्ला महोत्तरी र सिरहाका बसिन्दा अनुनय विनय गर्दै काठमाडौँसम्म आइपुगेको घटना सेलाउन नपाउँदै काठमाडौँको थानकोटमा बस्ने चार सदस्यीय एउटा परिवारले यसैको मारमा परेर मृत्युको बाटो रोजेको छ। 

काठमाडौँको चन्द्रागिरि नगरपालिका ५ निवासी विनय लामिछाने श्रीमती जमुना रेग्मी र दुई वर्ष र ६ महिनाका नाबालक छोरासहित त्रिशूलीमा हेलिए। धादिङको बेनीघाट रोराङ गाउँपालिका १ बाट बिहीबार साँझ त्रिशूलीमा हाम फालेका विनयका परिवारको ऋण त त्रिशूलीले बगाएन, दुई नाबालक छोरा र श्रीमतीलाई भने बगायो।

हाम फालेपछि बग्दै गरेका विनयलाई जलयात्रा गरिरहेको टोलीबाट उद्धार गर्‍यो। जमुनालाई बिहीबारै साँझ प्रहरीले मृत अवस्थामा फेला पर्‍यो भने दुई नाबालक छोरा अझै बेपत्ता छन्।

चर्को ब्याजको दबाबकै कारण आफूहरु आत्महत्या गर्ने अवस्थामा आइपुगेको विनयले प्रहरी समक्ष बयान दिएका छन्। उनले दुई छोरालाई काखमा च्यापेर त्रिशूलीमा हेलिएको बताएका छन्।

थानकोटस्थित घरमा ‘सुसाइड नोट’ छाडेर त्रिशूलीमा हेलिएका विनय अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन्। उनी अझै पूर्ण होसमा छैनन्। प्रहरीले सोधेका प्रश्नको जवाफ दिन उनको वाक्य फुट्दैन। घरिघरि रोइरहन्छन् मात्रै।

ऋणबाट मुक्ति पाउन हिँडेका उनका अगाडि श्रीमतीको लास छ भने छोराहरुको सम्झना मात्रै।

उनीहरुले यो दुःखान्त बाटो रोज्नुको मुख्य कारण मिटर ब्याजमा लिएको ऋण नै भएको जमुना रेग्मीको फेसबुक स्टाटसले पनि बताउँछ। उनले पुस १९ गते (जनवरी ४) मा ७ बजेर ४९ मिनेटमा मिटर ब्याजका कारण सर्वसाधारण मारमा परेको र थानकोटमा आएका नयाँ डीएसपीको यसतर्फ ध्यान गए सर्वसाधरणको बिचल्ली हुनबाट जोगिन्थे कि भन्ने आशय को स्टाटस पोस्ट गरेकी छन्।

‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके ब्याज दोब्बर–तेब्बर बनाउने अनि ऋणीलाई मर्न बाध्य बनाउने गरेको आपराधिक गतिविधि यस चन्द्रागिरि नगरपालिकामा अत्याधिक बढेको छ भन्ने सुन्नमा आएको छ। अहिले नयाँ डीएसपी साप पनि आउनुभएको छ रे सोतर्फ उहाँको ध्यान जान्छ कि? यसो भएमा सोझासाझा जनताको बिचल्ली हुनबाट जोगिन्छ कि?’ जमुनाले फेसबुकमा लेखेकी छन्।

balakविनय र जमुनाका दुई छोरा, जो अहिले त्रिशूलीमा बेपत्ता छन्।

यसमा उनले आफूहरु मिटरब्याजबाट पीडित भएको भन्ने कतै उल्लेख गरेकी छैनन्। तर, उनको स्टाटसले आफ्नै अवस्थालाई संकेत गरेको प्रहरीको भनाइ छ। जमुनाले फेसबुकमा आफ्नो नाम पनि उल्टो पारेकी छन्।

माघ २ गते घरमा सुसाइड नोट छाडेर उनीहरु जमुनाको माइती जाने भनेर हिँडेका थिए। जमुनाको माइती आदमघाटमा भए पनि उनीहरु त्यहाँ झरेनन्। घरमा माइती जाने भनेर हिँडे पनि उनीहरुको उद्देश्य भने अर्कै थियो। सुसाइड नोटमा विनयले ऋण दिने व्यक्ति र लिएको रकम उल्लेख गरेका छन् भने उनीहरुले व्यापार गर्ने अनलाइन कम्पनीका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरेको प्रहरीले जनाएको छ। घटना अनुसन्धानमा रहेका कारण प्रहरीले कसैको पनि नाम सार्वजनिक भने गरेको छैन।

दुई विषयमा डिग्री गरेका विनय थानकोटकै मंगलोदय क्याम्पसमा पढाउँथे। जमुनाले पनि डिग्री गरेको पारिवारिक स्रोतले बताएको प्रहरीको भनाइ छ। त्यसका अलावा काठमाडौँकै तीनकुनेमा भीएफएक्स ट्रेडरमा सेयर लगानी गरेर उनीहरुले अनलाइन व्यापार पनि गर्दै आएका थिए। त्यसका लागि उनले विभिन्न व्यक्तिहरुसँग चर्को ब्याजमा दुई करोडसम्म ऋण लिएको सुसाइड नोटमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले नेपालखबरलाई बताए।

‘सुसाइड नोटका आधारमा हेर्दा व्यापार बिग्रँदै गएको र चर्को ब्याजमा ऋण लिएका साहुहरुले अत्याउन थालेपछि आत्महत्या गर्ने सोच लामिछाने परिवारमा आएको देखिन्छ,’ एसपी रेग्मीले भने। सुरुमा व्यापार राम्रो भएपछि चर्को ब्याजमा ऋण लिन थालेको प्रहरीको अनुमान छ।

प्रहरीले बेपत्ता दुई बालकको पनि खोजी कार्य जारी राखेको छ। बिहीबार बेलुकादेखि नै पानी परेको र त्रिशूलीको पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको एसपी रेग्मीले बताए। ‘प्रहरीले खोजी कार्य जारी राखेको छ,’ उनले भने, ‘वर्षाले गर्दा त्रिशूलीको पानी धमिलो भएका कारण समस्या भएको छ।’

उनले विनयमाथि कर्तव्य ज्यान मुद्दा, आत्महत्या दुरुत्साहनको मुद्दा लगाउने विषयमा वकिलहरुसँग छलफल भइरहेको बताए। उनले श्रीमतीसँग आत्महत्याको सहमति भए पनि दुई नाबालकले उनीहरुकै कारण ज्यान गुमाएको बताए। प्रतिवादीलाई नै उद्धार गरेका कारण के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .