ad ad

समाज


सीता र प्रकाशको निधनका तीन संयोग

सीता र प्रकाशको निधनका तीन संयोग

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८० बुधबार १५:३५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार बिहान पत्नी सीता दाहाललाई गुमाए। वि.सं. २०२६ वैशाख २७ गतेदेखि प्रचण्डको सुखदुःखको साथी रहँदै आएकी सीताको निधनपछि उनी ‘विधुर’ बनेका छन्। 

सीताको निधन प्रचण्डले आफ्नो जीवनमा भोग्नुपरेको सबैभन्दा ठूलो शोक हो। सीताको निधनभन्दा साढे पाँच वर्षअघि उनले यस्तै शोक व्यहोर्नु परेको थियो। उनले एकमात्रै छोरा प्रकाशलाई गुमाएका थिए। 

त्यसअघि उनले जेठी छोरी ज्ञानुलाई पनि क्यान्सरका कारण गुमाएपछि शोकको श्रृंखला सुरु भएको थियो। 

प्रचण्डले आफ्नो ६९ वर्षको जीवनमा भोग्नु परेका यी शोकमध्ये साढे पाँच वर्षअघि भएको पुत्र प्रकाशको निधन र यसपटक सीताको निधनबीच तीनवटा समानता छन्। 

पुत्रशोकपछि सुरु समस्या 
११ मंसिर २०७४ मा भएको आमनिर्वाचनभन्दा ८ दिनअघि प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको काठमाडौँमा निधन भयो। प्रकाशको निधन हुनुअघिसम्म सीताको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थिएन। 

तर, जब एकमात्रै छोरालाई गुमाइन्, सीताले त्यो बज्रपातको चोटबाट आफूलाई सम्हाल्न सकिनन्। उनी मानसिक तथा शारीरिक दुवैरुपमा अशक्त बन्दै गइन्। उपचारका क्रममा सीताको स्वास्थ्यमा जटिल खालको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (एएसपी) रोग देखियो। 

मानसिक विकार उत्पन्न गराउने यो रोगको समस्या खासमा छोराको मृत्युका कारण सीतामा देखिएको थियो। प्रकाशको असामयिक निधन नभएको भए सम्भवतः उनमा त्यो समस्या देखिने थिएन।

यस हिसाबले प्रकाशको निधन नै सीताको स्वास्थ्य समस्या र निधनको कारण बन्न पुग्यो।

आमाछोरालाई नै हृदयाघात 
निकै लामो समयदेखि झन्डै अचेत अवस्थामा रहेकी सीताको स्वास्थ्यअवस्था अझै जटिल बनेपछि बुधबार बिहानै उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। बिहान ८ बजे अस्पताल पु¥याइएकी उनको करिब आधा घण्टापछि ८.३३ मा निधन भएको थियो। 

अस्पतालका अनुसार स्वास्थ्य समस्या देखिएकी सीतालाई अन्तिम समयमा हृदयाघात भएको थियो। हृदयाघातका कारण अस्पताल पुर्‍याएकी उनलाई त्यहाँका डाक्टरहरुले बचाउन सकेनन्। त्यसपछि ८.३३ मा उनको निधन भएको घोषणा केही समयपछि गरियो। 

साढे पाँच वर्षअघि प्रचण्ड–सीतापुत्र प्रकाशको निधन पनि हृदयाघातकै कारण भएको थियो। हृदयाघातका कारण ३ मंसिर २०७४ मा बिहान अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। सीतालाई जस्तै प्रकाशलाई पनि अस्पताल पुर्याएपछि मृत घोषणा गरियो। 

आमा–छोराको मृत्यु एकै अस्पतालमा  
प्रकाशको निधन हुँदा प्रचण्ड लाजिम्पाटस्थित भाडाको घरमा बस्थे, जुन प्रधानमन्त्री निवासबाट मुस्किलले १० मिनेटको पैदल दूरीमा थियो। सहरबीचमा भेटघाटका लागि सहज भएकाले प्रचण्डले बसोबासका लागि त्यो स्थान रोजेका थिए। 

एकमात्रै पुत्रको निधनका कारण उत्पन्न शोकबाट आफूलाई सम्हाल्न नसक्दा मानसिक र शारीरिक रुपमा अशक्त बन्दै गएकी सीताले त्यहाँ बस्न चाहिनन्। उनले प्रचण्डलाई उक्त घर सर्न बारम्बार जोड गर्न थालिन्। 

सीताको जोडका कारण केही महिनापछि प्रचण्ड लाजिम्पाटबाट खुमलटार सरे। रोग निको नभए पनि सीताले त्यहाँ सहज महसुस गरिन्। त्यही कारण अहिलेसम्म प्रचण्डको निवास त्यही रहँदै आएको छ। 

तर, प्रकाशलाई हृदयघात भएको लाजिम्पाटनजिकैको बालुवाटारस्थित सरकारी निवासमा बुधबार बिहानै सीतालाई हृदयाघात भयो। उनी तत्कालै नर्भिक अस्पताल लगिइन्। 

तर, सीताको अन्तिम अवस्था भइसकेको थियो। डाक्टरहरुले उनलाई बचाउन सकेनन्। साढे पाँच वर्षअघि ३ मंसिर २०७४ मा पुत्र प्रकाशको निधनको घोषणा भएको थियो, त्यही अस्पतालमा सीताको पनि निधनको घोषणा गरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .