ad ad

समाज


जाजरकोटमा पेट दुखेको उपचार नपाएपछि दाङ जाँदै थिए वीरबहादुर, बसमै त्यागे प्राण

जाजरकोटमा पेट दुखेको उपचार नपाएपछि दाङ जाँदै थिए वीरबहादुर, बसमै त्यागे प्राण

दिनेश बुढा
असोज १५, २०८१ मंगलबार २०:२४, सुर्खेत

गत सोमबार पेटको उपचारका लागि जाजरकोटबाट दाङ हिँडेका रोल्पा, रुन्टिगढी गाउँपालिका–३, जुरका वीरबहादुर घर्ती बाटामै मृत्युवरण गर्न पुगे।

जाजरकोटमा खोटो संकलनको काम गर्ने घर्ती छेडागाड नगरपालिका– ५, थहलबजारमा बस्दै आएका थिए। 

आइतबार नियमित कामकै लागि जंगल पुगेका उनलाई एक्कासि पेट दुखेको थियो। त्यस दिन बल्लतल्ल साथीहरूको सहयोगमा डेरासम्म पुगे।

डेरामा फर्किएर केही समय आराम गरे। तर, पेट दुख्ने समस्या अलिकति पनि कम भएन। त्यसपछि उनी धामी झाँक्रीकहाँ पुगे। झारफुक गराए। तर, वीरबहादुरको पेट दुखिरह्यो। 

केही गाउँले र साथीको सहयोगमा उनी डेरानजिकैको छेडागाड नगर अस्पताल गए। त्यहाँ सामान्य जाँच भयो र उपचार सम्भव नहुने भन्दै अस्पतालले रेफर गरिदियो।

दुखाइ कम हुने सुई लगाएर पीडा केही कम भयो। नगर अस्पतालको कागज बोकेर उपचारका उनी दाङतिर झरे। 

रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनका अनुसार, दाङमा आफन्त भएकाले उपचार गर्न सहज हुने अपेक्षासहित घर्ती जाजरकोटबाट दाङ जाने गाडी चढेका थिए।

‘वीरबहादुरको आन्द्रा बटारिएर वा भित्री चोटको कारण पेट दुखेको हुन सक्ने भन्दै दुखाइ कम गर्ने सुई लगाएर तत्काल नेपालगन्ज लैजान सुझाइएको रहेछ,’ अध्यक्ष पुनले भने, ‘आफन्त भएको ठाउँमा उपचार गर्न सहज होला भनेर वीरबहादुरचाहिँ दाङ जाने गाडी चढेका रहेछन्।’

वीरबहादुर बसेको मिनीबस जाजरकोट हुँदै सल्यान पुग्यो। अत्यधिक दुखिरहेको पेट खाल्डाखुल्डी बाटोले झन् दुखायो। सल्यानको धारापानी पुग्दा उनले प्राण त्याग गरे।

अध्यक्ष पुनका अनुसार वीरबहादुरका दुई छोरा र एक छोरी छन्। श्रीमतीको चार वर्षअघि निधन भइसकेको छ।

जेठा छोरा रोजगारीका लागि दुबईमा छन् भने कान्छा छोरा काठमाडौँ बस्छन्। घर्तीका १५ वर्षीया छोरी छिन्। 

आमा गुमाइसकेका तीनजना छोराछोरी अहिले टुहुरा बनेका छन्।

अध्यक्ष पुनका अनुसार घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा राखिएको छ। घर्तीका कान्छा छोरा पुगेपछि पोस्टमार्टमको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .