बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले लामो समयसम्म डिप्रेसनको सामना गरिन्।
घण्टौँसम्म रुनेदेखि दिनभर भोकै बस्नेसम्मका धेरै लडाइँ उनले लडेकी छिन्। हालैको एक अन्तर्वार्तामा इराले गहिरो डिप्रेसनका दिनका बारेमा बोलेकी छिन्।
इराले अक्टोबर २०२० मा पहिलो पटक सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। डिप्रेसनमा रहेका बेला कसैले पनि आफूसँग विवाह नगर्ने पीडाले सताउने गरेको उनले बताएकी छिन्। उनले भनेकी छिन्, ‘एक समय थियो म आफैँलाई किन मार्न पनि सक्थिनँ, किनभने मलाई पीडाको डर थियो। जीवन कसरी बिताउने भन्ने भयले सताउँथ्यो। लाग्थ्यो सबै मानिसहरु मसँग रिसाउने छन्। डराउँथे, दिनभरी ओछ्यानमा सुतेर रुने मान्छेसँग कसैले पनि बिहे गर्दैन।’
इरा आफ्ना आमाबुवाको सम्बन्ध विच्छेदका कारण निकै दुःखी भएकी थिइन्। तर त्यो कुराले आफूलाई किन दुःखी बनायो भनेर कहिल्यै थाहा नपाएको उनले बताएकी छिन्। भन्छिन्, ‘मेरा आमाबुवाको आपसी सहमतिमा सम्बन्धविच्छेद भयो। यति हुँदाहुँदै पनि हाम्रो परिवार सँगै बस्दै आएको थियो। त्यसैले मेरो मनमा जे नराम्रो भयो त्यो त्यति नराम्रो पनि थिएन। त्यसो भए म किन दुखी भएँ?’
इरा आमिर खानकी पहिलो पत्नी रीना दत्तकी छोरी हुन्।
मनमा नियमित दुःको भाव मात्रै आइरहेपछि इराले एक दिन आमालाई म्यासेज गरेर सबै कुरा बताइन्। भन्छिन्, ‘मैले आफ्नो यो भावना कसैलाई भनिनँ। यो सबै मेरो दिमागमा डेढ वर्षसम्म चलिरह्यो। त्यसपछि मेरा दिनहरु केही नखाएर बित्न थाले। यो समय थियो जब मैले स्वीकार गरें कि यो सामान्य छैन। त्यसपछि मैले मेरी आमालाई म्यासेज गरेँ र यी सबै कुरा सुनाएँ र कलेज छोडेर नेदरल्याण्डबाट मुम्बई आएँ।’
बुबा आमिर खानलाई सम्झिँदै उनले भनेकी छिन्, ‘सुरुदेखि अहिलेसम्म पापाले मलाई सधैं मद्दत गर्नुभएको छ। उहाँ मेरो सल्लाहकार हुनुहुन्छ। आमाले पनि मलाई धेरै सल्लाह दिनुभएको छ। म मेरा समस्या उहाँहरुसँग शेयर गर्छु तर धेरैजसो समस्याहरू आफैं समाधान गर्छु।’
उनले डिप्रेसन पछि एन्जाइटीको सामना गर्नु परेको थियो।
सन् २०१८ बाट डिप्रेसनको सिकार भएकी इराले २ वर्षअघि ‘अगात्सु फाउन्डेसन’ खोलेकी छिन्। जहाँबाट उनी मानसिक स्वास्थ्यका बारेमा बताउँछिन्।
Shares

प्रतिक्रिया