कला


अनल गौतमका ‘बार्दली’ र ‘दाहिने हाते सिक्का र साइकल’ एकसाथ सार्वजनिक

अनल गौतमका ‘बार्दली’ र ‘दाहिने हाते सिक्का र साइकल’ एकसाथ सार्वजनिक

नेपालखबर
असार २४, २०८० आइतबार १२:३७, काठमाडौँ

युवा साहित्यकार अनल गौतमले एकैपटक दुईवटा पुस्तक सार्वजनिक गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रमका बीच उनका उपन्यास ‘बार्दली’ र कथासंग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकसाथ लोकार्पण गरिएको हो। 

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तक लोकार्पण गरेका हुन्। 

लोकार्पण समारोहमा लेखक गौतमलाई बधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास र कथासंग्रह निकै नै रोचक र समयसामयिक लागेको बताए। 

कथासंग्रह ‘दाहिने हाते सिक्का र साइकल’को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ कथामध्ये कुनै न कुनैले पाठकलाई अवश्य छुने धारणा व्यक्त गरे। 

समालोचक डा. रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको भावना व्यक्त गर्ने सरल शैलीको प्रशंसा गरे। उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा. ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने विश्वास व्यक्त गरे। 

कार्यक्रममा लेखक गौतमले पुस्तक लेख्नभन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसँगको सहकार्यमा दुईवटा पुस्तक एकसाथ सहजै सार्वजनिक गर्न सकिएको बताए। 

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यकार गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयमै दुई पुस्तक प्रकाशन गराएको बताए। 

मूलतः आख्यान विधामा कलम चलाउने गौतमलाई यसमा पनि कथा र उपन्यासमा विशेष रुचि छ।

२०३८ असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाइकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा थालेका थिए। त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरे। 

गौतमलाई साहित्यकारका रुपमा स्थापित गर्ने काम २०७० मा प्रकाशित कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्‍यो। यो कथोपन्यासमार्फत उनी पाठकको मनमनमा बस्न सफल भएका थिए। २०७० सालमै गौतमले गीति संग्रह ’सरसी’ पनि प्रकाशन गरे। 

कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’मा के छ?

कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ मा कूल ११ वटा कथा छन्। जसमा फरक फरक परिदृश्यका कथा समावेश छन्। यो कथा संग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि यौवन अवस्थाका मानवीय संवेदनासम्मका कथा समेटेका छन्। विगत अनि वर्तमानका हाम्रै वरपरका भौगोलिक क्षेत्रभित्र बाल तथा युवा मनोविज्ञानलाई चित्रण गर्दै सामाजिक वस्तुस्थितिलाई समेत जोडेर लेखिएका कथा जीवन्त प्रतीत हुन्छन्। यस पुस्तकका केही कथा अलि काल्पनिकझैँ लागे तापनि तिनको वर्णनले यथार्थता झल्काउने कोसिस भने गरेकै छन्।

‘बार्दली’मा युवा वर्गका भोगाइ

लेखक गौतमको यसअघिको उपन्यास ‘लभ एट २५’ को दोस्रो भागका रुपमा लेखिएको उपन्यास हो– ‘बार्दली’। यो उपन्यासमा एकजना संर्घषशील युवाको कथा छ। पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी/युवाको मेहेनत, उसको जीवनमा आउने उतारचढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित छ उक्त उपन्यास। जसले हालका युवा वर्गका अनेकौं भोगाइ समेटिएका छन्। ‘बार्दली’ उपन्यासमार्फत उपन्यासकार गौतमले थोरै रोमान्टिक, थोरै पीडाबोध अनि यथार्थपरक जीवन भोगाइझैँ लाग्ने शैलीमा पाठकलाई आकर्षित गर्न खोजेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad