बैतडीको दोगडाकेदार गाउँपालिका-६ निवासी वीरसिंह भण्डारी लामो समयदेखि सिंहदरबार धाइरहेका थिए।
देशमा मौलाएको विकृति र विसंगतिबारे आक्रोश पोख्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खोजेका थिए।
आक्रोश पोखेर मन शान्त बनाउन खोजेका उनलाई अर्को तनाव थियो ५५ वर्षीय छोराको उपचारको तनाव।
छोराको उपचारमा पनि सहयोगको आश बोकेर उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छिरे।
वीरसिंह सिंहदरबार छिरेपछि प्रधानमन्त्रीले पनि उनलाई भेट्न बोलाए।
‘मैले प्रधानमन्त्रीसँग मनको बह पोख्न पाउँछु नि?’, उनले प्रधानमन्त्रीको कार्यकक्षतर्फ जानै लाग्दा सोधे।
सचिवालयबाट तपाईंले सबै कुरा गर्न पाउनुहुन्छ भन्ने जवाफ पाएपछि मन शान्त भए। छोराको उपचार भन्दा राजनीतिमा मौलाएको व्यक्तिवाद र विसंगतिविरुद्ध प्रधानमन्त्रीसमक्ष कुरा राख्ने उनलाई हतार थियो।
वीरबहादुर कान अलिक कम सुन्छन्। सचिवालयका सदस्यहरुले उनलाई प्रधानमन्त्री कार्यकक्षमा लगे। जहाँ उनी सोफामा बसे। केहीबेर मौनतापछि सोफाबाट उठे। त्यसपछि बसेरै कुरा गर्न भनियो। ‘होइन, मैले प्रधानमन्त्रीसँग धेरै कुरा गर्नुछ’ भनेर उठेका उनी प्रधानमन्त्रीसामु नमस्कार गर्न पुगे।
‘कति वर्ष लाग्नु भयो?’, प्रधानमन्त्रीले ठूलो स्वरमा उनलाई सोधे।
‘८९ लागेँ’ वृद्धले जवाफ फर्काए।
‘अलिक जोडले बोले त सुन्दा रहेछन्’, त्यसपछि प्रधानमन्त्रीले भने।
यति सवाल जवाफपछि वीरसिंहले प्रधानमन्त्रीसँग आफ्नो गुनासोका पोका खोल्न थाले।
उनले २०१५ सालदेखि नै बहुदलको पक्षमा लागेको कुराबाट आफ्नो पोको फुकाए। व्यक्तिगतभन्दा बहुदलीय व्यवस्थामा पुरानै संस्कार रहेको दुखेसो उनले पोखे। निर्दलको ठाउँमा बहुदल आए पनि दल र नेताहरुमा पुरानै संस्कार र प्रवृत्ति रहेको दुखेसो उनले राखे।
‘तपाईं अरुभन्दा फरक हुनुहुन्छ। तपाईंले जस्तै कडा भएर सरकार चलाउन सके जनताले केही पाउँथे कि,’ उनले भने, ‘व्यवस्था नयाँ र संस्कार पुरानो होइन, अब राजनीतिक संस्कार पनि नयाँ बनाउने गरी काम गर्नुस्। तपाईंबाट आशा छ। बहुदल खराब होइन, यसलाई चलाउने खराब भए। तपाईंले केही गर्न खोजेको लागिरहेको छ।’
यति भनिरहँदा उनमा बहुदल आए पनि देशमा केही हुन नसकेको निराशा प्रष्ट देखिन्थ्यो। उनी आक्रोशित मुद्रासँग भावविह्वल पनि देखिए।
त्यसपछि प्रधानमन्त्रीले सोधे, ‘तपाईंले भनेको कुरा मैले पनि मनन गरेको छु। अहिले कोसँग कहाँ बस्नुहुन्छ? तपाईंको घरपरिवारको के कस्तो छ?’
त्यसपछि बल्ल वृद्ध वीरसिंह व्यक्तिगत जीवनमा फर्किएर आफ्ना कुरा सुनाउन थाले।
आफ्नो एकमात्रै छोरा जनयुद्धमा लागेपछि वेपत्ता भएको कुरा उनले सुनाए। उनका अनुसार शान्ति प्रक्रियामा आइसकेपछि छोरो घर फर्किएन। छोराको नाम वेपत्ता योद्धाको सूचीमा राखियो । तर २० वर्षपछि अचानक छोरो घर आएको उनले सुनाए।
‘छोरो वेपत्ता सूचीमा थियो’, उनले भने, ‘तर अहिले २० वर्षपछि घर फर्कियो। तर श्वाशप्रश्वाससम्बन्धी बिमार लिएर आएछ। मैले प्रशासनलाई मेरो छोरा फर्कियो, वेपत्ताको भत्ता खानु छैन, उपचार गरिदिनुपर्यो भनेर बिन्ति बिसाएँ।’
प्रधानमन्त्रीले यो २० वर्षमा छोरा कहाँ रहेछन् भनेर सोधे। उनले दिल्लीमा बसेर बिरामी भएपछि मात्रै परिवारको सम्पर्कमा आएको बताए।
छोराको उपचारका लागि सिंहदरबार धाउन थालेको उनले बताए। गृहमन्त्रीसमक्ष समेत अपील गर्दा वडा कार्यालयमार्फत उपचारको पहलका लागि बचन दिएको उनले सुनाए।
व्यक्तिगत जीवना यति कुरा खोतलिसकेपछि उनी देशको राजनीतितिरै मोडिए।
‘व्यवस्था राम्रो हो तर व्यवस्थाअनुसार शासन चलेन’, उनले गुनासो सुनाए, ‘तपाईंजस्तै दह्रो भएर उभिने चाहिएको छ, खुट्टा नकमाउनुस्।’
त्यसपछि प्रधानमन्त्रीले उनी बसिरहेकोदेखि हेरचाहसम्मको कुरामा चासो राखे। जीवनयापनबारे पनि सोधेपछि प्रधानमन्त्रीले छोराको उपचार खर्च सरकारबाट उपलब्ध गराउने आश्वासन दिए।
प्रधानमन्त्रीले त्यहाँ उपस्थित सचिवालयका सदस्यहरुलाई वीरसिंहका छोराको उपचारको बन्दोबस्त गर्न भने। ‘उहाँलाई के कस्तो सहयोग गर्नुपर्ने हो, त्यो प्रक्रिया अघि बढाउनुस्’, उनले भने।
प्रधानमन्त्री प्रचण्डसँग व्यक्तिगत र राजनीतिक जीवनबारे भलाकुसारीपछि वीरसिंह सिंहदरबारबाट फर्किए। आफ्ना कुरा प्रधानमन्त्रीलाई राख्न पाउँदा उनको अनुहार प्रसन्न देखियो।
Shares
प्रतिक्रिया