ad ad

समाज


चितुवाको आक्रमण नरोकिँदा त्रास

चितुवाको आक्रमण नरोकिँदा त्रास

नेपालखबर
माघ २, २०७६ बिहिबार १२:२६,

बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाए। चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाउनुप-यो।

भानुमा पछिल्लो समय चितुवाको आक्रमण रोकिए पनि अझै ढुक्कसँग बस्ने अवस्था नरहेको स्थानीय मायादेवी अधिकारीले बताइन्। ‘चितुवाले कतिबेला आक्रमण गर्ने हो थाहा छैन, ढुक्कसँग बस्न सकेका छैनौ,’ उनले भनिन्, ‘साँझ पर्न थालेपछि सतर्कता अपनाउने गरेका छौँ।’

चितुवा आतंकका कारण साँझ ५ बजेपछि घरबाट बाहिर निस्कन बन्द गरिएको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका फूलमाया नेपालीले बताइन्। ‘साँझ पर्न थालेपछि चितुवा देखिन थालेकाले सबै घरभित्रै बस्ने गरेका छौं,’ उनले भनिन्। स्थानीय महिला घाँस दाउरा गर्न जंगलमा जान छाडेका छन्। स्थानीयवासी काजी खत्रीले विद्यालय पु¥याउन र विद्यालयबाट ल्याउन अभिभावक बालबालिकासँगै जाने गरेको सुनाए।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा आक्रमणबाट सबैभन्दा बढी भानुवासी प्रभावित रहेकोले ढुक्कसँग बस्नसक्ने अवस्था निर्माण गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको जानकारी दिए। उनका अनुसार भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि नौ वटा काठको खोर बनाइएको छ। उनका अनुसार चितुवा नियन्त्रणका लागि उक्त खोर प्रभावकारी देखिएको छ।

पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। मानवबस्तीमा चितुवा प्रवेश गरी बालबालिकालाई आक्रमण गर्न थालेपछि जिल्लास्थित डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र सामुदायिक वनका पदाधिकारीले नरभक्षी चितुवा नियन्त्रणका विभिन्न प्रयासहरू जारी राखेको बरालले जानकारी दिए।

चितुवा नियन्त्रण गर्न भानुमा थापिएको काठको खोरमा हालसम्म पाँच र ब्यास नगरपालिका–९ को फलामको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आइसकेको छ। उक्त चितुवालाई सुरक्षित रुपमा अन्यत्रै स्थानान्तरण गरिएको छ।

चितुवाका आहारा मृग, बँदेल, खरायो, वन कुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बरालले बताए। ‘ठूलो मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकोले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ,’ बरालले भने। अँध्यारो र घर आसपास झाडी भएको ठाउँबाट चितुवाले आक्रमण गर्ने देखिएकोले त्यसमा सर्तक हुन भनिएको छ। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट रु तीस लाख बजेट विनियोजन गरिएको बताए।

डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट ज्यान गुमाउने भानुका ६ बालबालिकाका परिवारलाई राहतस्वरुप जनही रु दश लाख उपलब्ध गराइसकेको र बाँकी दुई बालकका परिवारलाई राहत वितरणका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .