काठमाडौंको भद्रकालीस्थित मन्दिरमा एक हप्ताअघि आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन्।
युवतीलाई यातना दिने विष्णु कुँवरलाई आज (शुक्रबार) बिहान बालाजुबाट पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले नेपालखबरलाइ जानकारी दिए।
‘उनलाई केहीबेरअघि मात्र हामीले पक्राउ गरेका हौं,’ नेपालखबरसँग बोगटीले भने।
उनका अनुसार अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ।
एक हप्ताअघि सैनिक मुख्यालय नजिकै रहेकाे भद्रकाली मन्दिरमा एक युवतीलाई बोक्सीको आरोप लगाउँदै कुँवरले यातना दिएकी थिइन्। जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त भिडियोमा कुँवरले ‘तँ को होस्, छिटो निस्की,’ भनेर युवतीको टाउकोमा हातले पिटेकी छन्। ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेकी छन्।
भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ। ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ।
उक्त भिडियाे सार्वजनिक भएपछि प्रहरीले उनकाे खाेजी गरिरहेकाे थियाे।
उनी बुटवलबाट काठमाडौं आएकी हुन्। बुटवल प्रहरीका अनुसार कुँवर बुटवलको कालिकानगर लखनपथमा बस्ने गर्छिन्। त्यहाँ मण्डप नै तयार पारेको र कुँवरकहाँ देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्।
Shares

प्रतिक्रिया