देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला (सोमबार बिहान) लुम्बिनीका पाल्पा, गुल्मी क्षेत्रतिर, गण्डकीको पोखरा तथा बागमतीको नुवाकोटमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।
मौसम महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र मधेश प्रदेशका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
‘आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ’, मौसमविद् झाले भने।
यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यस्तै मधेश प्रदेशलगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– ‘कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।
Shares

प्रतिक्रिया