ad ad

समाज


सबै प्रदेशमा पानी पर्ने, कोशी, लुम्बिनी र सुदूरपश्चिममा ‘भारी’ वर्षाको सम्भावना

२४ घण्टाका लागि चेतावनी जारी
सबै प्रदेशमा पानी पर्ने, कोशी, लुम्बिनी र सुदूरपश्चिममा ‘भारी’ वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १७, २०८० आइतबार ७:१६, काठमाडौँ

देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला (आइतबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले मधेश प्रदेशका केही स्थान र देशका बाँकी प्रदेशका एक/दुई ठाउँमा वर्षा भइरहेको हो। ‘अहिले काठमाडौं र आसपासका एक/दुई स्थानमा पनि वर्षा भइरहेको छ’, उनले भनिन्। 

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी  र मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– ‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना  रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .