ad ad

समाज


निर्वाचन क्षेत्रका किसानलाई मन्त्री किराँतीको सम्मान, खेतमा पुगेर गरे बाउसे

निर्वाचन क्षेत्रका किसानलाई मन्त्री किराँतीको सम्मान, खेतमा पुगेर गरे बाउसे

नेपालखबर
असार १५, २०८० शुक्रबार २१:५४, काठमाडौँ

पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री र सांसदहरू असार १५ (धान दिवस) मा धान रोप्न व्यस्त देखिए। बिहानैदेखि नजानेपनि हिलो खेतमा धान रोपेजस्तो गरेर तस्बिर खिचाउने र सामाजिक सञ्जालमा पोस्ट गर्नेको होड नै चल्यो। 

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती पनि आफ्नो गृहजिल्लाको  रोपाईंमा सरिक भए। तर, उनको यो कुनै प्रचारबाजी वा नौलो काम होइन।

उनको यो हरेक वर्षको नियमित कार्य नै हो।

गत बुधबार (१३ असार) नै गृहजिल्ला पुगेका मन्त्री किराँती आज (१५ असार) भोजपुरका किसानसँग खेतमा सँगसँगै काममा निस्किएका थिए। 

उनी भोजपुरबाट तीनपटक निर्वाचित जनप्रतिनिधि हुन्। किसान महान भएको बताउँदै आएका किराँती मन्त्री बनेपछि पनि आफूले यसअघि गर्दै आएको कामलाई निरन्तरता दिन किसानको खेतमा पुगेको बताउँछन्। 

सांसद हुँदा पनि किसानको सम्मान गरेका किरातीले मन्त्री भएपछि त्यसलाई निरन्तरता दिएका हुन् । 

‘किसान महान छन्, उनीहरूले फलाएको अन्न खाएर मात्र नेताले देश चलाउन सक्छन्, जहाज उडाउन पाइलटलाई शक्ति दिने खानेकुरा उत्पादन किसानले नै गर्छन्। विश्वका शक्तिशाली मानिसको आहारा उत्पादन किसानले नै गर्ने हुन्,’ किरातीले भने।

किराती किसानलाई अफ्नो आदर्श मान्छन्।

गत वर्ष भोजपुर जिल्लाको अरुण गाउँपालिकाको चम्पेमा धान दिवस मनाउँदै किसान सम्मान गरेका थिए।

२०६४ को पहिलो संविधान सभा चुनाव, ०७४/२०७९ प्रतिनिधि सभा चुनाव जितेका किराँतीले टेम्केमैयुँङ गाउँपालिका-२ छिनमखुका ५ महिला र ५ पुरुष गरेर १० जना किसानलाई एक सरो कपडा फेरिदिएर सम्मान गरेका थिए।

उनी मन्त्री भएपछि दोस्रोपटक जिल्ला पुगेका हुन्। जिल्ला पुगेका बेला लामो समय लगाएर गाउँ-गाउँमा स्थानीय भेटघाट गर्ने गरेका छन्।

यो पटक उनी माओवादीका नेता अजम्बर काङमाङ दिलकुमार राई नगेन्द्र भुजेलसंगै प्राज्ञ राजन मुकारुङ सहित गृह जिल्ला पुगे।

उनले खेतमा बाउसे गरे। गाउँका युवासँगै उनको प्रतिस्पर्धा नै चलेको थियो।

धान रोप्ने मेला सकेर छुट्ने बेला स्थानीय केही मन्त्री किरातीलाई ‘हिउँदमा भेट्न आउनु है’ भनेका छन्। उनले जवाफ दिदै भने, ‘हुन्छ, यहाँहरुको आशीर्वाद लिन समय मिलाएर आउछु!’

केही युवाले अझै राम्रो काम गरे काठमाडौं आएर सिंहदरबारमा फोटो खिचाएर प्रचार गर्ने विश्वास पनि उनलाई दिलाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .