समाज


‘लिभिङ टुगेदर’मा अपार्टमेन्टमा बस्ने जोडीको धन्दा : दिउँसो रेकी, राति चोरी

‘लिभिङ टुगेदर’मा अपार्टमेन्टमा बस्ने जोडीको धन्दा : दिउँसो रेकी, राति चोरी

नेपालखबर
असार १०, २०८० आइतबार २२:६, काठमाडौँ

काठमाडौंमै घर तर, अपार्टमेन्टको बास। सोल्टिमोडको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने यी जोडीले तिर्ने गरेका थिए, मासिक ६० हजार भाडा। तर त्यो रकम उनीहरू ल्यापटप र मोबाइल चोर्थे र बेचेर जुटाउँथे।

अष्ट्रेलिया जाने सपनामा यसरी श्रृंखलावद्ध चोरी गर्दै आएका एक जोडीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौंको नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जन यतिबेला ललितपुर प्रहरीको हिरासतमा छन्।

उनीहरू डेढवर्षदेखि अपार्टमेन्टमा बस्थे। ‘लिभिङ टुगेदर’मा रहेका उनीहरू दिनभर मोबाइल तथा ल्यापटप पसलको रेकी गर्थे र राति चोर्न हिँड्थे। 

सुबोध पहिले पनि चोरी मुद्दामा जेल परेर छुटेका हुन्। जेलबाट छुटेका उनी सुध्रिएनन्। उनको कुकर्ममा साथ दिन थालिन्, प्रेमिका रोशनीले। 

उनीहरूको सपना थियो, चोरेको रकमले अष्ट्रेलिया उड्ने। तर १९ वर्षपछि फेरि उही मुद्दामा जेल फर्किने बाटो बनायो। 

२०८० जेठ २८ गते राति ललितपुर प्रशासन कार्यालय अगाडीको ग्लोबल लिंक टेक्निोलोजीबाट एउटा ल्यापटप चोरी भयो। पसल सञ्चालकले प्रहरीमा उजुरी गरे। 

ललितपुर प्रहरीले अनुसन्धान थाल्यो। १० दिन लामो अनुसन्धानपछि फन्दामा परे सुबोध र रोशनी। 

सुबोध आफैं पनि पहिले आइटीसम्बन्धिकै पसल सञ्चालक हुन्। काठमाडौंको महाबौद्धमा पसल खोलेका थिए। उनले त्यसक्रममा सामान खरिद बिक्रि बारे सिके। 

तर भूकम्पपछि राम्रो नचलेपछि पसल बेचिदिए। अनि फेरि सुरु गरे चोरी। उनीहरूले दिनभरी पसलमा रेकी गर्न जाने र रातिको समयमा चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले बरामद गरेका चोरीका सामानहरु।

यसरी काठमाडौंका ४ वटा पसल चोरीमा संलग्न भएको पुष्टि भएपनि अन्य स्थानमा पनि उनीहरूले चोरी गरेको हुन सक्ने ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। 

प्रहरीले उनीहरूको निवास खानतलासी गर्दा १२ वटा ल्यापटप बरामद गरेको छ। यसरी चोरी गरेका मोबाइल तथा ल्यापटपहरू हाम्रो बजार डटकम मार्फत बिक्रि गर्ने गरेको खुलेको छ। 

बजार मूल्यभन्दा २०/३० हजार रुपैयाँ सस्तोमा दिने गरेको एसएसपी शाह बताउँछन्। 

प्रहरीले यसरी कति मोबाइल तथा ल्यापटप बेचे भन्ने तथ्यांक हाम्रो बजारसँग माग गरेको छ। अहिलेसम्म ज्ञानेश्वरको आरबी सप्लायर्स  र पुतलीसडकको आइटिइन प्रालिमा पनि चोरी गरेको खुलेको छ। प्रहरीले बरामद गरेका ८ वटा ल्यापटप पुतलीसडकबाट चोरी भएको खुलेको छ।  

सुबोध र रोशनी अष्ट्रेलिया जाने तयारीमा रहेको बताएका छन्। यसका लागि उनीहरूले राहदानी बनाएको र भाषा पनि पढिरहेको बताएका छन्। अष्ट्रेलिया जाने खर्च जुटाउनकै लागि चोरी गरिरहेको सुबोधले प्रहरीलाई बताएका छन्। 

प्रहरीका अनुसार चोर्न जाँदा उनीहरूले फरक–फरक मोवाइलबाट पठाओ, इनड्राइभ जस्ता सेवा प्रयोग गर्ने गरेका थिए। यस्तै, अपार्टमेन्टमा खाना अडर गर्न छुट्टै मोबाइल नम्बर प्रयोग गर्ने र अन्य कामका लागि छुट्टै मोबाइल नम्बर प्रयोग गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ। 

उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .