ad ad

समाज


वीर अस्पतालमा ७ सय शय्या निःशुल्क

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क

वीर अस्पतालको भीभीआईपी कक्ष।


नेपालखबर
असार ८, २०८० शुक्रबार १८:४५, काठमाडौँ

वीर अस्पतालले आजैदेखि लागू हुने गरी अस्पतालका ७ सय शय्या निःशुल्क गरेको छ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयमा बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याबिन र आईसीयू बाहेक वीरका सबै ७ सय वटै शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रबार आयोजना गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक सार्वजनिकिरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्री र न्याम्सको सहकुलपतिको हैसियतमा हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिएँ। आज निर्णय भएर कार्यान्वयनमा आयो। जनताका पक्षमा काम गर्न सकेकोमा खुशी लागेको छ।’

वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो। दैनिक २०० रुपैयाँ तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो। ७०० शय्या निःशुल्क भएपछि वीरलाई करिब ६ करोड भार थपिने छ।

न्याम्सका नवनियुक्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले पनि स्वास्थ्यमन्त्री बस्नेतले पटक पटक दिएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए। उनले क्याबिन र आईसीयू बाहेक सबै शय्या निशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफू सफल हुँदै गइरहेको बताए।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिशत शय्यामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफूले कडाईका साथ लागू गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए। मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफू त्यो काममा अगाडि बढिसकेको बताए।

सूर्तिजन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरि आफू लागेको र यो अभियानमा सबैको साथ चाहिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .