समाज


यस्तो छ खाँणलाई कारागार पठाउन अदालतले लिएको आधार

यस्तो छ खाँणलाई कारागार पठाउन अदालतले लिएको आधार

नेपालखबर
असार १, २०८० शुक्रबार २०:४६, काठमाडौँ

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुई साता लामो थुनछेक बहसपछि २ जनालाई धरौटीमा रिहा गर्दै खाँणसहितलाई भने थुनामा पठाउन आदेश दिएका हुन्। 

खाँणलाई थुनामा पठाउने प्रमाणका रुपमा न्यायाधीशले केही आधार लिएका छन्। 

न्यायाधीशको थुनछेक आदेशमा भनिएको छ – प्रतिवादी बालकृष्ण खाँणका हकमा विचार गर्दा निज तत्कालीन गृहमन्त्री रहेको देखिन्छन्। बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्या समाधानका उपायका सम्बन्धमा २०७६ सालमा प्रतिवेदन बुझाएको शरणार्थीहरुको दर्ता प्रक्रिया र पुनर्स्थापना गराउने कार्य ३१ डिसेम्बर २०१६ मा नै बन्द भएको भन्ने यूएनएचसीआरले जानकारी गराएको, यूएनएचसीआर संयुक्त प्रमाणीकरण टिमले प्रमाणीकरण गरेका ४२९ जनाको नाम नै विवादित रहेको अवस्थामा पन्थी प्रतिवेदन कार्यन्वयनका लागि मन्त्रिपरिषदमा पेस गर्न मिति २०७८ मंसिर १२ मा स्वीकृति दिएको मिति २०७८ असोज १४ गते पुनः छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गराएको, कार्यदेश थप भएको र सो कार्यदलको अवधि व्यतीत भएपछि पनि निजले नै दुई महिनाको म्याद थप गरेको देखिएको, निज बालकृष्ण खाँण गृहमन्त्री रहेका बखत मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्को नक्कली समानान्तर प्रतिवेदन गृह मन्त्रालयमा तयार भएको, जाहेरवाला प्रेमराज पन्थीको जाहेरी व्यहोरामा पीडितको रकम फिर्ता गर्न दबाब दिएकोले केशवप्रसाद दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन्, गृहमन्त्री र गृह सचिवसँग कुरा भइरहेको छ, अब रकम फिर्ता गर्ने होइन अमेरिका जाने हो भन्ने उल्लेख गरेको, केशवप्रसादल दुलाल र टेकनारायण पाण्डेका बीचको संवाद र टेकनारायण पाण्डेको बयान समेतबाट प्रतिवादीको कसुरमा संलग्नता रहेको देखिन्छ।

यही आधारमा खाँणलाई अदालतले थुनामा पठाउने आदेश दिएको हो। आदेशसँगै खाँण लगायतका १६ प्रतिवादीलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad