समाज


‘वान एक्स बेट’मार्फत अनलाइन जुवा : पक्राउ परे कलाकार बल्छी ध्रुवे

‘वान एक्स बेट’मार्फत अनलाइन जुवा : पक्राउ परे कलाकार बल्छी ध्रुवे

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १२:३८, काठमाडौँ

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ 'बल्छी ध्रुवे' पक्राउ परेका छन्। 

बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेपछि कलाकार बल्छी ध्रुवे पनि तानिएका हुन्।

उनीसहित यो प्रकरणमा मुछिएका करिब ८ देखि १० जनालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ तयारी गरेको थियो।उनीसहितलाई पक्राउ गरेकालाई अदालतबाट म्याद थप गरेपछि सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरुमार्फत  ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए। बल्छीध्रुवेलाई अहिले पक्राउ गरेर प्रहरीले अपराध अनुसन्धान कार्यालयमा ल्याइरहेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले बुधबार मात्रै कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर  ‘वान एक्स बेट’ मार्फत जुवा खेलाउन करोडौँ अवैध कारोबार गरेको भेट्टाएको थियो।

यो प्रकरणमा खड्काले सट्टेबाजहरुको मुख्य एजेन्टका रुपमा आफूलाई सक्रिय बनाउने गरेका थिए। उनै खड्काले कलाकारहरुलाई पनि आकर्षक रकमको प्रलोभन देखाएर अनलाइन जुवाको प्रमोशन गराउने गरेका थिए। 

सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले बैंक खाता नै ६३ वटा खाता खोलेको भेटिएको थियो। अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार खड्कासहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

त्यही अनुसन्धानका क्रममा बल्छी ध्रुवेसहितका कलाकार पनि यो ठगी प्रकरणमा तानिएका हुन्। 

खड्कासहितका गिरोहले सट्टेबाजीमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ। 

बुधबार पक्राउ परेका आशीषले तीन करोड कारोबार गरेको फेला परेको छ। दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बुधबार बताएका थिए। 

उनका अनुसार आशीषको साथबाट प्रहरीले ३७ लाख  बरामद गरेको थियो। पक्राउ गरेर बुधबार सार्वजनिक गरिएकाहरुको  साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .