ad ad

समाज


९७ यात्रु लिएर क्वालालम्पुरबाट भैरहवा आइपुग्यो राष्ट्रिय ध्वजावाहक

९७ यात्रु लिएर क्वालालम्पुरबाट भैरहवा आइपुग्यो राष्ट्रिय ध्वजावाहक

नेपालखबर
जेठ ३०, २०८० मंगलबार ११:८, काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज ९७ जना यात्रु लिएर मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ।

११ जना विदेशीसहित ९७ जना यात्रु बोकेर क्वालालम्पुरबाट आएको जहाज मंगलबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय   विमानस्थलमा अवतरण गरेको हो। 

निगमको जहाजमा आएका ९७ यात्रुमध्ये ३१ जनालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले स्वागत गरेका छन्। 

नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको स्वागतका लागि पर्यटनमन्त्री सुदन किराती भैरहवा पुगेका हुन्।

विमानस्थल संचालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्न थालेको हो।

मंगलबार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हो।

उक्त जहाजमा आएका ९७ यात्रुमध्ये ११ जना मलेसियाका पर्यटन व्यवसायी छन्। निगमको पहिलो उडानमा आएका मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण भएपछि लुम्बिनी घुमेर काठमाडौं हुँदै मलेसिया फर्किने तालिका छ।

निगमले मलेसिया–भैरहवा रुटका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो। अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट निगमले बेचिरहेको छ।

मलेसियाबाट भैरहवाको उडान गर्न पौने ५ घण्टा लाग्छ। भैरहवामा यात्रु झारेपछि उक्त जहाज काठमाडौं आउँदैछ। यो जहाज आइतबार राति क्वालालम्पुर गएको थियो।

भैरहवा विमानस्थल २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। यो विमानस्थल बनाउन सरकारले १० अर्ब बढी खर्चेको छ। तर अन्तर्राष्ट्रिय उडान नहुँदा यो एयरपोर्ट धान्न सरकारलाई कठिन भएको छ। 

यसअघि निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरेका थिए। तर यहाँ कुबेतको जजिरा एयरलायन्स मात्रै व्यवसायिक उडान गरेको थियो।

जजिरासँगै हिमालयन एयरलाइन्सले गत कात्तिकमा मलेसियाका लागि चार्टर उडान भरेको थियो। तर अहिले यिनले नियमित उडान गर्दैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .