पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहेका छन्, तोकिएको जेब्राक्रसबाट बाटो काटेका छैनन् वा आकाशे पुल प्रयोग गरेका छैनन् भने अब सचेत रहनुपर्नेछ। ट्राफिक प्रहरीले अब त्यतिकै छाड्नेवाला छैनन्। अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरिएको छ। सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै ऊनीहरूकै माध्यमवाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भने, ‘ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडि सञ्चालन गरेका छौँ। क्रमशः अन्य स्थानहरूमा पनि यो अभियान सञ्चालन हुनेछ।’ ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन्। आजमात्रै करिव १००० पैदलयात्रीलाइ सचेतना कक्षा दिईएको छ।
ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान नै सञ्चालन गरेको हो। उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी वाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिन्छ।
साथै ट्राफिक एफएम ९५.५ मेघाहर्जवाट पनि नियमित रूपमा पैदलयात्रीहरूले सडक प्रयोग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरूलाई जानकारीमूलक कार्यक्रम तथा अनुरोधहरूसमेत प्रसारण गरिरहेको छ।
यस आर्थिक वर्ष मात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको छ। गत वर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान गएको थियो।

प्रतिक्रिया