कारोबार


थपिँदै दुई अन्तर्राष्ट्रिय विमानस्थल, अलमलमा मन्त्रालय र निजी वायुसेवा कम्पनी

थपिँदै दुई अन्तर्राष्ट्रिय विमानस्थल, अलमलमा मन्त्रालय र निजी वायुसेवा कम्पनी

बसन्त अर्याल
पुस २८, २०७६ सोमबार ११:२७,

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालमा आगामी डेढ वर्षभित्र थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भए पनि यसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यावसायिक योजना (विजनेस प्लान) बनाउन सकेको छैन।

भैरहवा र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनलागेका छन्। तर मन्त्रालयले व्यावसायिक योजना नबनाउँदा निजीक्षेत्रका हवाइ सेवाप्रदायक कम्पनीहरु अलमलमा परेकाे बताएका छन्।

भैरहवा विमानस्थलको भौतिक पूर्वाधारको मुख्य काम पूरा भएको छ भने पोखराको अझै बाँकी छ। पोखरा विमानस्थलले सन् २०२० को अन्त्यसम्म भौतिक पूर्वाधारको काम सक्ने लक्ष्य राखेको छ।

खासगरी नयाँ विमानस्थलमा कहाँको जहाज उडाउने, कस्तो जहाज उड्न सक्ने, हवाइ रुट कुन प्रयोग गर्ने, कस्तो सुविधा दिने भन्ने विषय मन्त्रालयले एयरलाइन्स कम्पनीहरुलाई स्पष्ट पारेको छैन। ती विमानस्थलबाट उडान भर्दा पाउने सेवा, सुविधा र फाइदाबारे जानकारी नहुँदा निजी कम्पनीहरुले सोहीअनुसारको तयारी समेत गर्न नपाएको गुनासो गरेका छन्।

pokhara airport1 पाेखरामा निर्माणाधीन विमानस्थल। तस्बिरः प्रविन काेइराला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भैरहवा र पोखरा विमानस्थलमा उडान भर्दा नेपाली निजी क्षेत्रका एयरलाइन्स कम्पनीलाई कस्तो सुविधा दिने भन्ने विषयमा छलफल नै नभएको स्वीकारे। मन्त्रालयमा हवाइ शाखा हेर्ने लामिछानेले नेपालखबरसँग भने, ‘मेरो जानकारीमा कम्पनीहरुलाई के सुविधा दिने भन्नेमा मन्त्रालयमा कुनै छलफल भएको सम्झना छैन।’

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भने प्राधिकरणमा कुनै पनि नेपाली निजी क्षेत्रका एयरलाइन्सले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रकिया नै सुरु नगरेको बताउँछन्।

अलमलमा निजी कम्पनी
पूर्वाधार तयार हुँदै गर्दा सञ्चालनकाे स्पष्ट योजना बन्न नसक्दा अन्याैल बढेकाे हाे। सरकारले दीर्घकालीन रुपमा योजना बनाउनुपर्नेमा याेजना तर्जुमा गर्नेतर्फ वेवास्ता गरेकाे छ जसले गर्दा निजी कम्पनीलाई पनि अलमलमा पारेको छ। विमानस्थलमा सेवा सञ्चालनमा आउन आवश्यक पूर्वतयारी पूरा गर्नुपर्ने हुन्छ। तर सरकारकै योजना नहुँदा निजी कम्पनी पनि योजनाविहीन बनेका छन्।

yati buddha himalaya

नेपालको अन्तर्राष्ट्रिय हवाइ उडानमा निजी क्षेत्रबाट एकछत्र राज गरेको हिमालय एयरलाइन्सले नयाँ विमानस्थलबारे कुनै योजना नबनेको बताएको छ। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले सरकारले विमानस्थलको विषयमा स्पष्ट नपारेसम्म योजना नबन्ने बताए। ‘भैरहवा वा पोखरा विमानस्थल प्रयोग गर्दा सरकारले हामीलाई के सुविधा दिन्छ, त्यहीअनुसार नै योजना बनाउँछौँ’, उनले भने, ‘अहिले सरकार नै स्पष्ट भइसकेको छैन।’

उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि हिमालय एयरलाइन्सलाई नयाँ जहाज आवश्यक पर्ने बताए। ‘सरकारले सहज र सरल बनाए नयाँ जहाज थप्ने योजनामा छौं। अहिले त नयाँ जहाज ल्याउन पनि सजिलो छैन। कसरी भैरहवा र पोखराबाट उडान भर्ने योजना बनाउने?’, उनले भने। हिमालयले अहिले काठमाडौंबाट आबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर र चीनको बेइजिङसहित विभिन्न सहरमा उडान भर्दैै आएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान भर्दै आएको अर्को निजी कम्पनी बुद्ध एयरले पनि कुनै योजना नबनाएको जनाएको छ। कम्पनीका मार्केटिङ प्रमुख रुपेश जोशीले तत्काल कुनै योजना नबनाएको बताए।

‘पहिला एयरपोर्ट बन्नुपर्यो अझै बनेका छैनन्। भैरहवामा रुटको समस्या छ’, उनले भने, ‘पोखरामा रुटसँगै कत्रो जहाजले उडान भर्न सक्छ स्पष्ट छैन।’ नेपालको आन्तरिक उडानमा नाम कमाएको बुद्धले भारतका विभिन्न सहरमा काठमाडौंबाट उडान भरे पनि घाटामा गएपछि केही समयअघि बन्द गरेको थियो। तर हाल नेपालगञ्जदेखि भारतको बनारसमा उडान भर्दै आएको छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि बुद्धले अन्तर्राष्ट्रिय उडानको लागि कुनै सोच नै नभएको उनले बताए। जोशीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा भए भारत तथा चीन उडान गर्ने सोच भएको बताए।

‘तर पोखरामा कस्तो जहाज उडाउन सकिनेछ भन्ने मन्त्रालय वा क्यानले अझै स्पष्ट पारेको छैन। ठूलो जहाजको लागि कहिले डाँडा काट्नुपर्छ भन्छन्। विमानस्थल अन्तिम चरणमा पुग्ने बेला हामी योजना बनाउँछौं’, उनले भने ‘पोखराबाट सबैकुरा मिल्यो। ठूलो जहाज पनि उडान भर्न सक्यो भने त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्न सक्छौं।’

त्यस्तै आन्तरिक उडानमा नाम कमाएको यति एयरलाइन्सको भने अन्तर्राष्ट्रिय उडानको कुनै योजना नभएको सिनियर म्यानेजर भीमराज राईले बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको लागि कुनै योजना नै छैन। आन्तरिक उडानलाई नै अझ मजबुत बनाई मागअनुसार जहाज थप्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad