समाज


‘वर्षा सुरु भयो, हावाहुरी पीडितका घर बनेनन्’

‘वर्षा सुरु भयो, हावाहुरी पीडितका घर बनेनन्’

नेपालखबर
असार १२, २०७६ बिहिबार १२:४०,

वर्षा सुरु हुनै लाग्दा पनि घर निर्माण हुन नसकेको भन्दै बारा पर्साका हावाहुरी पीडितले असन्तुष्टी जनाएका छन्।

नेपाली सेनाले प्रभावितहरुका लागि आवास निर्माणको काम गरिरहेको भएपनि क्षतिको यथार्थ विवरण संकलन हुन नसकेका कारण सो बस्तीका केही परिवार घरवारविहीन हुने देखिएको छ। पहिलो अनुगमन निरीक्षणमा सबै पीडितको नाम समावेश भएपनि सरकारले जग्गा नभएकाहरुको नाम सूचीबाट हटाएपछि समस्या भएको हो।

अर्काको जमिनमा फुसको घर बनाएर बसेका र एकाघरका दाजुभाईहरुको भिन्ना भिन्नै परिवारका लागि घर निर्माण गर्ने विषयमा सरकारले केही नभनेको भन्दै कलैया उपमहानगरपालिका वडा १८ भरवलियाले वेवास्ता गरेपछि पीडित समस्यामा परेका हुन्।

बाराका जिल्ला प्रशासन कार्यालयको विवरणमा सुरुमा बारा पर्सा गरी कुल १ हजार ४ सय ५३ घर निर्माणका लागि सिफारिस गरिएकोमा हाल फिल्डमा ’भेरिफिकेसन’ टोली जाँदा ८ सय ८९ घर निर्माणका लागि आदेश आएको छ।

कलैया उपमाहानगरपालिका, ८ नम्बर वडा कार्यालयले आफ्नो जग्गा नभएकाहरुका लागि घर निर्माण गर्ने बारे सरकारले केही निर्देशन नगरेकाले घर निर्माण गर्न नसकिने बताउदै आएको छ। अध्यक्ष अम्बिका प्रसाद यादवले जग्गा नभएकाका लागि सरकारले जग्गा उपलब्ध गराएर घर निर्माणको पहल गर्नुपर्ने अन्यथा वडा कार्यालयले केही गर्न नसक्ने बताए।

गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी २९ जनाको मृत्यु भएको थियो। हुरीले बाराको फेटा, सुवर्ण, पचरौता, पर्सौनी, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो। नेपाली सेनाले साउन मसान्तसम्म सबै ८ सय ८९ वटा घर निर्माण गरि हस्तान्तरण गरिसक्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad