धनुषाको मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियन्ता ओमप्रकाश (दिलीप) महतोको निर्मम हत्यामा संलग्न दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति प्रदान गर्न राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ।
‘आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरि दोषीलाई कानून बमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको लागि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महतोको शुक्रबार बिहानै धनुषाको औरही खोलामा टिपरले टाउकोमा किचेर हत्या गरिएको थियो।
प्रहरीले सो हत्या आरोपमा क्रसर उद्योग सञ्चालक विपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्र कुमार महतो र किसान रोशन कुमार यादवलाई शनिबार बेलुका पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।
घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगको प्रदेश २ कार्यालयको टोली घटनास्थलतर्फ गएको आयोगले जनाएको छ।
‘यस घट्नाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लघन भएको छ। स्वच्छ वातावरणको अधिकार मानव अधिकारको महत्वपूर्ण विषय हो,’ आयोगले भनेको छ। ‘वातावरणको अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ। हिंसा तथा कसैको जीवन नै समाप्त गरेर समस्याको समाधान हुन सक्दैन भन्नेमा आयोग विश्वस्त छ।’
यस सन्दर्भमा वातावरण संरक्षण अभियन्ताहरुको टोलीले आयोगमा आइतबार आयोग अध्यक्ष अनुपराज शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरि दोषीलाई कानूनी कारबाहीको माग गर्दै उनीहरुले आयोग अध्यक्ष शर्मासमक्ष ज्ञापन पत्र बुझाएका हुन्। घटनाको काननी प्रक्रियाबारे आयोगले नजिकबाट अनुगमन गरिरहेको र वातावरणको अनधिकृत दोहन सम्बन्धमा प्रतिवेदन प्राप्त भैसकेपछि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताए।
दिलीप हत्याबारे प्रहरी : घाइते बनाएपछि खोलामा सुताई टिपरले किचिएको
Shares

प्रतिक्रिया