मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य–अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ।
टिएरा ब्लान्का नगरपालिकामा ट्रयाक्टरमा चढेर अन्यत्र गइरहेका आप्रवासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा ८६ जना वयस्क व्यक्ति र अरु बालबालिका रहेका छन्।
पक्राउ परेकाहरुमा मध्य–अमेरिकी राष्ट्रहरु होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवाका रहेका छन्। प्रहरीले ट्रयाक्टरका चालकलाई मानव तस्करीको आशंकामा गिरफ्तार गरेको छ।
यस्तै अर्को कारबाहीमा टान्तोयुका नगरमा पनि १५ जना मध्य अमेरिकी नागरिक बसमा यात्रारत रहेको अवस्थामा पक्राउ परेका छन्। त्यसमा नौ जना बालबालिका रहेका थिए।
विगत दुई हप्ताभित्र मेक्सिको सरकारले अमेरिका भित्रिन खोज्ने अवैध आप्रवासीमाथिको कारबाहीलाई तिब्र बनाएको छ।
कुनै पनि किसिमका बैध कागजात बेगर नै मेक्सिको प्रवेश गर्ने आप्रवासीको संख्या विगत एक दशकमै आज सबैभन्दा बढी पाइएको अधिकारीहरुले बताएका छन्।
मेक्सिको सरकारले आप्रवासीको खुलेआम प्रवेशलाई नियन्त्रण गर्न हजारौं सैनिक र प्रहरी परिचालन गरेको छ।
सिन्ह्वाका अनुसार मेक्सिको र संयुक्तराज्य अमेरिकाबीच गत जुन ७ मा भएको सम्झौता बमोजिम मेक्सिको सरकारले देशव्यापी अभियान संचालन गरेको हो।
Shares

प्रतिक्रिया