आज (शनिबार) देशका पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले पनि कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए।
‘यसमा विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश (पहाडी भूभाग) मा वर्षाको सम्भावना बढी छ’, उनले भने। काठमाडौं उपत्यकामा पनि आज अपराह्न वा साँझपख हल्का वर्षाको सम्भावना देखिएको उनले बताए।
साथै दिउँसो तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् प्रधानांगले जानकारी दिए। ‘खासगरी पश्चिमी तराईमा हावाहुरीको बढी सम्भावना छ’, उनले भने, ‘आजलाई मधेशमा हावाहुरीको सम्भावना त्यति छैन।’
उनका अनुसार राति चाहिँ कोशी प्रदेशका थोरै भूभागमा वर्षाको सम्भावना छ भने देशका बाँकी स्थानमा वर्षाको खासै सम्भावना छैन।
मौसम क्रमिक रूपमा सुधार हुने
मौसमविद् प्रधानांगका अनुसार आजदेखि मौसम ३/४ दिनलाई क्रमिक रूपमा सुधार हुँदै जाने देखिएको छ।
‘एउटा सिस्टम (पानी पार्ने मौसमी प्रणाली) गयो, त्यसको प्रभाव आजसम्म पनि रहन्छ तर हिजोअस्तिको तुलनामा केही कमजोर हुन्छ’, उनले भने, ‘आगामी ३/४ दिन नयाँ सिस्टम आउने देखिएको छैन, क्रमिक रूपमा मौसम सुधार हुँदै जाने सम्भावना देखिएको छ।’
प्रतिक्रिया