छापा खबर


यी हुन् विदेशी पर्यटकलाई लुट्ने काठमाडौंका नामी ६ अस्पताल

यी हुन् विदेशी पर्यटकलाई लुट्ने काठमाडौंका नामी ६ अस्पताल

नेपालखबर
पुस २७, २०७६ आइतबार ३:११,

काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् ।

पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन ।

काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए।

वयोधा अस्पताल
एकै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको बिल, १७ दिनमा १०९ पटक विशेषज्ञको ‘राउन्ड’।

ग्रान्डी अस्पताल
नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि–फेरि।

ग्रान्डीले त रगतमा पनि पर्यटकबाट दुई हजार चार सय ५३ रुपैयाँ उठाएको छ । ‘नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, त्यस्तै रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि गर्न लगाइयो, बिरामीसँग लिइएको शुल्क तोकिएकोभन्दा बढी लिएको पाइयो,’ प्रतिवेदनले भनेको छ।

र्भिक अस्पताल
‘कोअर्डिनेसन चार्ज’, ‘हस्पिटल सरचार्ज’जस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा असुल, मन्त्रालयको टोलीले माग्दा पनि मूल्यसूची दिएन।
नर्भिक अस्पतालले बिरामीबाट उठाउनुपर्ने भन्दा अन्यथा शीर्षक राखेर पैसा असुलेको छ।

स्वाकोन अस्पताल
पर्यटकको उद्धार गर्ने नाममा ठगी गर्दै आएको भनेर यसअघि नै बदनाम बत्तीसपुतलीस्थित स्वाकोन अस्पतालले कार्यालयमा राखेको र बिरामीलाई दिएको बिल फरक–फरक पाइएको छ।

अस्पतालले कन्सल्ट्यान्ट डाक्टरबापत ६ हजार नौ सय र ड्युटीमा रहेका डाक्टरबापत चार हजार चार सय १६ रुपैयाँ चार्ज गरेको अभिलेख छ। ‘तर, बिरामीलाई आठ हजार ६ सय नौ रुपैयाँ चार्ज गरिएको छ, यो सरकारले तोकेभन्दा १० गुणा बढी हो,’ प्रतिवेदनमा उल्लेख छ ।

इरा हेल्थ सेन्टर

नयाँबजारको इरा हेल्थ सेन्टरले सन् २०१५ देखि २०१८ सम्म एक हजार एक सय ३० विदेशी पर्यटकलाई उपचार दिएको अभिलेख राखेको छ । यो हेल्थ सेन्टरको स्तर हेरेर सरकारले इमर्जेन्सी सेवा मात्र दिनु र थप उपचार आवश्यक परेमा रेफर गर्नु भन्ने निर्देशन दिएको थियो ।

 सिवेक अस्पताल
लैनचौरस्थित सिवेक अस्पतालले एक हजार सात सय ७३ जना बिरामीको उद्धार गरी १४ करोड २३ लाख ९१ हजार चार सय ४७ रुपैयाँ भुक्तानी लिएको छ । जब कि अस्पतालले तीन आइसियूसहित १५ शय्या मात्र सञ्चालन स्वीकृति पाएको छ।

८ माघ ०७५ मा पानीको मात्रा कम भई अस्पताल ल्याइएका एक बिरामीको सामान्य उपचारमै एक लाख ६९ हजार नौ सय ९६ रुपैयाँ भुक्तानी लिएको अस्पतालको अभिलेख छ ।

तर, सो मितिमा भर्ना गरिएका बिरामी क्रेइग फोसडिकबाट भने तीन हजार ६ सय २० अमेरिकी डलर ९ करिब चार लाख रुपैयाँ० उठाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad