ad ad

समाज


जब १३ वर्षीया गर्भवती बालिका डा.नुतनकोमा पुगिन्...


समृद्धा केसी
जेठ ७ , काठमाडौँ

यौनका बारेमा जान्नबुझ्न सबै खोज्छन् तर यस बारे खुलेर बोल्न कोही चाँहदैनन्। यदि कसैले मुख खोले सामाजिक रुपमै छाडा भनि करिब-करिब अछुत बनाइन्छ।

हाम्रो यस्तो सामाजिक परिवेशले यौन शिक्षालाई समेत संकुचित बनाइदिएपछि त्यसले डरलाग्दा विकृतिहरु जन्माउने गरेको छ। यौन ज्ञानको अभावमा उत्पन्न यस्तै एउटा डरलाग्दो कथाबारे यहाँ चर्चा गर्न गइरहेको छु।

यो तथ्यकथा शहरमा निकै चर्चित र ब्यस्त मानिने स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले मलाई सुनाएकी हुन्।

केही समयअघि मात्र डा. शर्माको ओपीडीमा एउटा अनौठो बिरामी दाखिला हुन्छिन्। कक्षा ६ मा पढ्ने १३ वर्षीया ती बालिकाको अभिभावकले उनको पेट फुल्लिदै गएको देखेपछि उनलाई अस्पताल ल्याएका हुन्छन्।

‘मैले देख्नासाथ नानीको महिनावारी बारे सोधेँ। अभिभावकलाई त्यसबारे पत्तो नै थिएन,’ नेपालखबरको मल्टिमिडिया स्टुडियोमा कुरा गर्दै डा. शर्मा भन्छिन, ‘अल्ट्रासाउण्ड गरि हेरेको नभन्दै मेरो शंका सही निस्कियो। उनको पेटमा सात महिनाको भ्रुण हुर्किरहेको थियो।’

डा.शर्माले यो तथ्य किशोरीको बुवालाई सुनाईदिए। शर्माको मुखबाट वाक्य सकिन नपाउँदै उनले आफ्नी गर्भवती छोरीलाई त्यहीँ भकुर्न थाले। पछि ती किशोरीले आफ्नो केटा साथीको घरमा जाँदा उसले आफ्नो गुप्तांगमा छेडखानी गरेको बताइन्।

केटीलाई आफ्नो साथीले गरेको करणीबारे केही अत्तोपत्तो थिएन। ती नाबालिकलाई सेक्स के हो थाहा नै थिएन। ‘त्यसमा ती बच्चीको के गल्ती? बरु यसमा अभिभावकको पो गल्ति देखिन्छ। किनकी उनीहरुले आफ्ना बच्चालाई यौन ज्ञान नै दिएका रहेनछन्।’

अभिभावकको अज्ञानताका कारण सन्तानको भविष्य बिग्रिएको बताउने डा. शर्मा भन्छिन्, ‘सात महिना भइसकेकोले गर्भपतन गर्न सकिँदैनथ्यो। शारिरीक र मानसिरुपमै त्यो बालिकाले धेरै कुरा सहनुपर्‍यो। उसको जीवन सुरु हुनु अगावै सकियो।’

यौनका विषयमा धेरैले चासो दिएपनि यसबारे कुरा गर्न वा आफूले भोगिरहेको समस्याका विषयमा खुलेर बोल्न नसक्दा समाजमा यस्ता समस्या उत्पन्न भइरहेको डा. शर्मा बताउँछिन्।

यति मात्र होइन यौन सम्बन्धी अल्पज्ञानले किशोरीहरुले असुरक्षित शारिरिक सम्बन्ध राख्ने र गर्भधारण गरेपछि डर र लाजकाजबाट बच्न बजारमा पाईने गर्भ फाल्ने औषधि खाएर आफ्नो शरीर नै कुरुप बनाइरहेका छन्। यो संख्या डरलाग्दो रुपमा बढिरहेको डा. शर्माको अनुभव छ।

डा. शर्मा त्यसको भयावह वर्णन गर्दै भन्छिन्, ‘म कहाँ समस्या लिएर आउने धेरैले असुरक्षित यौन सम्पर्क राखेको र जथाभावी पिल्स खाएर समस्या निम्त्याएको देखिन्छ । ती पढेलेखेका हुन्छन् तर उनीहरुमा पर्याप्त यौन ज्ञानको कमी हुन्छ।’

यौन स्वास्थ्यका विषयमा ज्ञान कम भएका कारण यौनाङ्ग ‘इन्फेक्सन’ भइ आफूकहाँ आउने १६/१७ वर्षका युवतीहरुको संख्या पनि बढ्दै गइहेको डा. शर्मा सुनाउँछिन्।

उनी भन्छिन्, ‘धेरै ढाड दुख्ने, फोहोर पानी बग्ने, सेतो पानी बग्ने जस्ता समस्या लिएर आउने गर्छन। उनीहरुलाई महिनावारी सरसफाईका विषयमा सोध्दा खासै थाहा नै हुँदैन। यौन सम्बन्ध राखेका छौँ भनि सोध्दा ‘यस’ भन्छन् तर  कण्डमको प्रयोग गर्दैनौं भन्ने जवाफ दिन्छन्। धेरैलाई कण्डमको महत्व नै थाहा छैन।’

डा. शर्माको विचारमा माथिका दृष्टान्टबाट सिक्नुपर्ने एउटै मात्र पाठ के हो भने घरमा र बिद्यालय हाताभित्र दश एघार वर्ष उमेरदेखि नै यौन शिक्षालाई अन्य विषय झैं पढाउन जरुरी छ। यौनका बारेमा जति कम बोलिन्छ वा छलफल गरिन्छ त्यति नै कम जनचेतना फैलिएर विभिन्न समस्याहरु निम्तिने हुनाले यसमा जति सरकार संवेदनशील बन्नुपर्छ, त्यति नै अभिभावक पनि अग्रसर हुन जरुरी छ ।

डा. शर्मा भन्छिन, ‘१०/११ वर्षको उमेर देखि नै यौन शिक्षाका बारेमा थाहा पाउनुपर्छ। किनभने यहि उमेर देखि किशोरीहरु महिनावारी हुन्छन्। महिनावारी स्वच्छताका विषयमा पनि थाहा पाउनैपर्छ।’

महिनावारी हुनु भनेको छोरी मान्छेको उमेर बढ्नु मात्र नभई उनीहरू प्रजननरुपमा पनि सक्षम हुँदैछन् वा हरेक महिना महिनावारी हुँदा आमा बन्नेगरी शारिरीक बिकास पनि भइरहेको छ भनि बुझ्नु हो।

स्कूल र कलेज देखि यौन शिक्षालाई जति प्रोत्साहन दिन्छौं त्यति नै यौन रोगहरुबाट बच्न सकिने र हाम्रो समाज स्वस्थ्य हुने डा. शर्माको भनाइ छ।

‘सेभ र अनसेभ महिनावारी के हो? यौन सम्बन्ध कति वर्षमा राख्ने? सुरक्षित यौन सम्पर्क कसरी राख्ने? गर्भवती भएपछि कस्ता लक्षण देखिन्छ? यी सबै कुरा थाहा पाउनपनि यौन शिक्षा आवश्यक पर्छ।

कण्डमको प्रयोगले बच्चा हुन नदिने मात्र होइन त्यसले विभिन्न संक्रमणबाट पनि बचाउँछ भन्ने सिकाइनुपर्छ। यौनाङ्गमा हुने संक्रमणले भविष्यमा बाँझोपना, गर्भनली बन्द हुने, पाठेघरमुखको क्यान्सर हुने हुँदा कण्डमको उपयोगिता बताईदिनु पर्छ।

यस्ता कुरा छिपाउनु हुँदैन।

डा. शर्मा भन्छिन्, ‘घरबाट आमाले नै छोरीलाई महिनावारी र आवश्यक पर्ने यौन शिक्षा दिनुपर्छ। छोरीले स्कुलमा त्यो शिक्षा लिन्छिन् र पछि आमा बनेपछि आफ्नो सन्तानलाई आफूले सिकेको कुरा बताउँछिन। त्यसपछि विस्तारै समुदायमा यो शिक्षा फैलिने हो।’

यौनका कुुराहरू समाजमा राम्ररी प्रस्तुत गर्नसके त्यसले बलात्कारका घटना कम गराउने, संक्रमण कम हुने, पाठेघर मुखको क्यान्सर कम हुने र बाँझोपनको समस्या पनि कम गर्न सकिने बताउने डा. शर्मा आशावादी पनि देखिन्छिन्।

उनी भन्छिन्, ‘पहिलेको तुलनामा अहिले नेपाली समाज यौनका बारेमा खुल्दै गएको देखिन्छ। यो राम्रो संकेत हो।’

फोटो/भिडिओ : सरोज नेपाल

जेठ ६, २०८० शनिबार १८:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .