समाज


नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १४ जना थप तीन दिन हिरासतमा रहने

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १४ जना थप तीन दिन हिरासतमा रहने

नेपालखबर
जेठ ३, २०८० बुधबार १७:३६, काठमाडौँ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद मिलेको छ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप दिन हिरासतमा राख्ने अनुमति बुधबार जिल्ला अदालत काठमाडौंले दिएको हो। 

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, नेपाल सरकारका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परेका छन्। 

यो प्रकरणमा अहिलेसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ। 

पछिल्लो पटक आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग मात्रै अब बयान लिन बाँकी छ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा गत चैत्र १२ गते तीनजनालाई पक्राउ गरेको थियो।

उनीहरु ५४ दिनदेखि प्रहरीको हिरासतमा छन्। संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।

तर, पछिल्लो समय उच्च राजनीतिक नेतासहितका आरोपीहरुसँग बयान जारी रहेको छ।

यसअघि बालकृष्ण र टोपबहादुरदको बयान सकिएको थियो। अब पूर्वसांसद शेर्पाको बयान सकिएपछि प्रहरीले मुद्दाको फाइल सरकारी वकिलमार्फत अदालत लैजाने तयारीमा छ।

नक्कली शरणार्थी प्रकरणका आरोपित तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक र बादलकै तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन्। उनीहरुविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .