ad ad

समाज


न्युरोडमा कपडा पसल चलाएर बसिरहेका दाउद र छोटा राजनका सहयोगी पक्राउ

न्युरोडमा कपडा पसल चलाएर बसिरहेका दाउद र छोटा राजनका सहयोगी पक्राउ

दीपक खरेल
पुस २५, २०७६ शुक्रबार १२:२०,

भारतीय सुरक्षाकर्मीहरुले ६ महिना लामो प्रयासपछि अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिम र छोटा राजनका पूर्वसहयोगी एजाज युसुफ लकडावालालाई पोखराबाट पक्राउ गरेको खुलासा भएको छ।

अमेरिका, बेलायत, अफ्रिका हुँदै नेपाल छिरेका लकडावाला पछिल्लो ८ वर्षदेखि काठमाडौंमै चौधरी भाइजानका नामले कपडा पसल चलाएर बसिरहेका थिए। 

स्राेतका अनुसार उनले चाैधरी थरमा चितवन जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानी लिएका छन्। यस बाहेक उनले क श्रेणीका बैंकहरूमा काराेबार समेत गरिरहेका  थिए। उनी ठमेलमा  क्युरीयाे पसल चलाउथे भने पुतलीसडकमा कार्यालय समेत राखेका थिए। यी सबै उनकाे देखाउने ब्यापार थिए। असली धन्धा भनेकाे धम्काउने र फिराैती उठाउने थियाे। 

गृह मन्त्रालय स्रोतका अनुसार लकडावालाकी छोरी पुस १२ मा नेपाल आउँदै गर्दा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि उनी नेपालमा रहेको खुलेको थियो। भारतीय सुरक्षा अधिकारीहरुले लकडावालकी छोरी सोनियालाई नक्कली राहदानी बोकेको आरोपमा नियन्त्रणमा लिएका थिए। सोनियासँगको सोधपुछमा उनको बुबा नेपालमा रहेको खुलेपछि मुम्बई प्रहरीको क्राइम ब्रान्च एन्टी एक्स्टोर्सन सेलले लकडावालाको खोजी गर्न थालेको थियो।

मुम्बईमा छोरी पक्राउ परेपछि लकडावाला काठमाडौं छाडेर पोखरामा लुकिछिपी बसिरहेका थिए। उनलाई भारतीय सुरक्षा अधिकारीहरुले मंगलबार एयर इन्डियाको उडानबाट मुम्बई लगेको स्रोतले जनाएको छ।

भारतीय सुरक्षा अधिकारीहरुले लकडावाला काठमाडौंमा पहिचान लुकाएर न्युरोडमा कपडा पसल चलाएर बसिरहेको स्वीकारे पनि उनी बिहारको पटनाबाट पक्राउ परेको दाबी गरिरहेका छन्।

लकडावाला मुम्बईका स्थायी बासिन्दा हुन्। त्यहाँ निर्माण व्यवासायीलाई धम्काएर असुली गर्न उनी कुख्यात थिए। उनले मलेसिया, थाइल्यान्ड, अफ्रिका, अमेरिका र बेलायतबाट समेत आफ्नो समूह परिचालन गरिरहेका थिए।

lakdawala-3.jpg

सुरुमा लकडावाला अन्डरवल्र्ड डन दाउद इब्राहिमको समूहमा थिए। सन् १९९३ मा भएको श्रृंखलावद्ध बम विस्फोटपछि उनी दाउद समूह छोडेर त्यसको विरोधी छोटा राजन समूहमा पसेका थिए। तर, छोटा राजन उपर सन् २००० र लकडावाला उपर सन् २००२ मा थाइल्यान्डमा दाउद समूहले आक्रमण गरेपछि उनी भागेर अफ्रिका पुगेका थिए। यो घटनामा लकडावाललाई ६ राउण्ड गोली लागेको थियो। अफ्रिकापछि उनी अमेरिका र बेलायतमा समेत बसेर आफ्नो छुट्टै समूह चलाउदै आएका थिए।

अन्तर्राष्ट्रिय प्रहरीले दबाब बढाएपछि उनी भागेर ८ वर्षअघि परिवारसहित नेपाल छिरेका थिए। यहाँबाट पनि उनले अन्तर्राष्ट्रिय सीम प्रयोग गरेर भारतका ठूला व्यापारीलाई धम्क्याउने गरेका थिए।

इस्लामिक स्टेटका तीन सदस्य पनि पक्राउ 
यसैगरी आतंकवादी संगठन इस्लामिक स्टेटका तीन सदस्यलाई नेपालमा पक्राउ गरेर भारत लगिएको छ।

भारतीय गुप्तचर संस्थाहरुको खोजीमा रहेका ख्वाजा मोइउद्धिन, सैयद अली नभास र अब्दुल समाद समातिएका हुन्।

तीनै जना भारतको गणतन्त्र दिवस (२६ जनवरी) मा शृंखलावद्ध बम आक्रमणको योजनामा रहेको भारतीय प्रहरीले जनाएको छ।

पश्चिम तथा पूर्वी तराईका जिल्लामा विभिन्न छद्म नाममा पेशा–व्यवसाय गरेर बसिरहेका उनीहरुलाई भारतको गुप्तचर संस्था इन्टिलिजेन्स ब्युरो (आईबी) को सूचनाका आधारमा दिल्ली विशेष ब्युरोले नेपालमा पक्राउ गरेको हो। आईबीले यस सम्बन्धी सूचनासहित तीनैजनाको फोटो प्रहरीको विशेष ब्युरोलाई पठाएपनि ब्युरोले कारबाही गर्नुअघि नै भारतीय सुरक्षा अधिकारीहरुले उनीहरुलाई पक्रेर लगेका हुन्।

81468743_901992093589107_3420893622508191744_n.jpg

उनीहरुलाई गत साता नै पक्राउ गरेपनि उनीहरुका केही सहयोगी फरार भएपछि नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

वरिष्ठ सरकारी अधिकारीका अनुसार तीनजना नियन्त्रणमा लिएपछि अन्य फरार भएका थिए। उनीहरुको खोजी अहिले पनि भइरहेको छ। सामान्य भेषमा नेपालमा लुकिछिपी बसिरहेका उनीहरुलाई सुनसरी, कपिलवस्तु र बाँकेका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको थियो।

पक्राउ परेका तीनैजना इस्लामिक स्टेट (आईएस) को निर्देशनमा परिचालित भएको आशंका भारतीय सुरक्षा अधिकारीहरुले गरेका छन्। आईएसका वरिष्ठ नेताहरुको निरन्तर सम्पर्कमा रहेको देखिएपछि उनीहरुको खोजी तीब्र पारिएको थियो। यी तीनैजना दक्षिण भारतका हुन्।

भारतीय सुरक्षा अधिकारीहरुले पक्राउ परेका तीनमध्ये दुईजना हिन्दुवादी नेता केपी सुरेश कुमारको हत्यामा पक्राउ परेर धरौटीमा रिहा भएका थिए। नेता कुमारको सन् २०१४ को जुनमा दक्षिण भारतमा आतंकवादी संगठन अल उमाहका सदस्यहरुले हत्या गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .