समाज


बयान थाल्नुअघि टोपबहादुरले भने– मेरो त २० मिनेटमै सिद्धिन्छ, विषय केही पनि छैन

बयान थाल्नुअघि टोपबहादुरले भने– मेरो त २० मिनेटमै सिद्धिन्छ, विषय केही पनि छैन

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १, २०८० सोमबार १८:१३, काठमाडौँ

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सुरु भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार साढे ४ बजेबाट रायमाझीको बयान थालिएको हो। 

त्यसअघि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर उनलाई तीन दिन हिरासतमा राख्न अनुमति लिइएको थियो। 

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सरकारी वकिल कार्यालयमा लगेर अदालत उपस्थित गराएको थियो। 

अदालतबाट तत्कालै तीन दिन म्याद थप भयो। त्यसपछि सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेको कार्यकक्षमा रायमाझी फुर्तिसाथ फर्किएका थिए। 

सुरुमा वकिल कार्यालयमा जाँदा पनि हात उठाउँदै गएका रायमाझी दोस्रो पटक पुग्दा पनि उत्साहित जस्तै देखिन्थे। 

फर्किएर सरकारी वकिल प्रमुखसँग उनले छोटो संवाद गरे। म्याद थपका लागि अदालत पुगेका सरकारी वकिलले भने, ‘बहस खासै भएन हजुर।’

‘तीन दिन म्याद थप गर्ने कुरामा के बहस गर्नु र हजुर’, रायमाझीले थपिहाले।

सरकारी वकिल प्रमुख नेउपानेले हाँस्दै भने, ‘बहस गरे पनि नगरे पनि कुरा त्यही हो।’

‘केही सोधपुछ गर्ने होला त्यहीँ भन्ने लागेको थियो। थाहै थेन के मलाई। यो प्रोसेसमा केहिल्यै परिएन’, रायमाझीले पनि हाँस्दै भने। 

त्यसपछि एकछिन सबै हाँसे। माहोल नै रमाइलो जस्तो भयो।

अहिले गर्ने भनेको प्रहरी र सरकारी वकिल कार्यालयले मात्रै हो। वकिलले मागेको म्याद अदालतले दिन्छ। कति थप्ने? थप्ने कि नथप्ने भन्ने पनि वकिल कार्यालयले नै भन्छ। अदालतले त्यसैलाई औपचारिक निर्णय गरिदिन्छ। 

सरकारी वकिलले यो प्रक्रियाबारे बताए। त्यसपछि प्रमुख नेउपानेले भने, ‘अब ४ बज्यो, कतिबेर भ्याइन्छ।’

‘पानी-सानी उतै व्यवस्था गरौँ सुरु गरिहालौँ। त्यस्तो धपेडी केही छैन आज सुरु त हो। भित्रै पानी राखिदिऊँ न’, बयानमा संलग्न सहायक जिल्ला न्यायाधिवक्ताले भने।  

‘अँ भित्रै पानी राखिदिए पनि हुन्छ’, टोपबहादुर पनि सहमत भए। 

सरकारी वकिलले थपे, ‘आज ताततातै टुंग्याऊँ त्यसपछि हजुर ढुक्कले रेस्ट गर्दा हुन्छ।’

‘त्यो भए धेरै राम्रो हुन्छ’, टोपबहादुरले भने, ‘मेरो त केही छैन, उस्तै परे २० मिनेटमा सिद्धिन्छ। विषय नै छैन मेरो।’

‘ओके, त्यसो भए त आजै सिद्धिन्छ, आउनै पर्दैन’, वकिलले भने, ‘लु थालिहालौँ।’

रायमाझी–‘हुन्छ।’

त्यसपछि अनुसन्धानमा संलग्न प्रहरी, सरकारी वकिल र रायमाझी बयान गराउने बाहिरको कोठामा छिरे। 

तर रायमाझीको बयान सुरु भए पनि आजै नसकिने सरकारी वकिल कार्यालय प्रमुख नेउपानेले बताए। आज जति सकिन्छ ६ बजेसम्म हुनेछ। त्यसपछि बाँकी मंगलबार गराइने छ। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि एमालेका निलम्बित सचिव रायमाझी वैशाख २० गतेदेखि फरार थिए।

उनलाई प्रहरीले आइतबार बेलुका काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो। रायमाझीलाई प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ। 

यो प्रकरणमा रायमाझीका छोरा सन्दीपसहित १३ जना पक्राउ परेका छन्। अन्यको बयान सकिए पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँण र रायमाझीको मात्रै बयान बाँकी छ। 

खाँणको बयान सोमबार सुरु भए पनि उनले आफूलाई सन्चो नभएको बताएपछि बयान पूरा हुन सकेको छैन।

खाँण र रायमाझीकै बाँकी बयान मंगलबार गराइने छ। उनीहरुलाई बुधबार फेरि अदालतमा उपस्थित गराउनु पर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .