ad ad

समाज


कम हुँदै ‘मोखा’ चक्रवातको चिन्ता

कम हुँदै ‘मोखा’ चक्रवातको चिन्ता

चक्रवातले बंगलादेशमा गरेको क्षति


नेपालखबर
जेठ १, २०८० सोमबार ७:५१, काठमाडौँ

बंगालको खाडीमा विकास भई बंगलादेश र म्यानमार प्रवेश गरेको अति शक्तिशाली ‘मोखा’ नामक चक्रवात अहिले क्रमशः कमजोर हुँदै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त चक्रवात आइतबार राति बंगलादेश र म्यानमार क्षेत्रमा ‘ल्यान्डफल’ (जमिनमा प्रवेश) भइसकेकाले कमजोर हुँदै गइरहेको हो। सामुद्रिक आँधी (चक्रवात) समुद्रबाट निस्केर जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ।

चक्रवात नजिकका देश भारत, बंगलादेश र म्यानमारमा भने हावाहुरी आउने तथा वर्षा हुने भइरहेको छ। तर त्यहाँ पनि चक्रवात कमजोर हुँदै गएकाले विपत्तिको जाेखिम कम हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

‘नेपालमा भने त्यसको उल्लेखनीय प्रभाव पर्ने देखिएको छैन’, मौसमविद् लामिछानेले भने, ‘नेपालको पूर्वी भागमा अलिअलि बादल आउने क्रमचाहिँ जारी छ, तर त्यसले ठूलो वर्षा गराउने सम्भावना छैन।’

मौसमविद् लामिछानेका अनुसार अब चक्रवात नै कमजोर हुँदै गइरहेकाले नेपालमा त्यसको थप प्रभाव पर्ने सम्भावना लगभग देखिएको छैन।

तर पनि अहिले प्रिमनसुनको सिजन भएकाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मेघगर्जन, चट्याङ र सामान्य हावाहुरीका साथ वर्षा हुने सम्भावना भने रहन्छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

यस्तै आज राति पनि देशका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा बादल देखिनु) रहनेछ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

काठमाडौंमा पनि वर्षाको सम्भावना
मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छ। 

‘दिउँसो तथा साँझपख मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले भने, ‘हिजोको जस्तै सामान्य हावाहुरी पनि चल्नसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .