ad ad

समाज


नक्कली शरणार्थी प्रकरणमा संलग्न थप आरोपीको खोजी गर्दै प्रहरी

नक्कली शरणार्थी प्रकरणमा संलग्न थप आरोपीको खोजी गर्दै प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक सीताराम रिजाल।


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:४२, काठमाडौँ

प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौं रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। 

पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए। 

यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन।

‘अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ’, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भने, ‘अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ।’

पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन्।

जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ।

यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ। उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्।

उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । सुरुमा पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .