अहिले (बिहीबार बिहान) पनि देशका विभिन्न स्थानमा वर्षा एवं हिमपात जारी छ। पश्चिमी वायुका कारण बुधबार बिहान सुरु वर्षा र हिमपात अझै नरोकिएको हो।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ। यस्तै पश्चिमका केही स्थान र पूर्वका थोरै ठाउँमा अहिले पानी परिरहेको छ।
मंगलबारदेखि सक्रिय पश्चिमी वायुको प्रभाव त्यही दिनदेखि पश्चिमी क्षेत्रमा सुरु भएको थियो भने बुधबार बिहानदेखि देशभर मौसम बदली भई विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेकाे हाे।
‘आज पनि मौसम खुल्ने सम्भावना छैन,’ मौसमविद् बासीले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात जारी नै रहने देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यममदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेकाले, यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनुहुन सबैमा अनुरोध छ।
भोलि (शुक्रबार) बाट मात्र मौसम केही सुध्रिँदै जाने संकेत रहेको माैसमविद् बासीले बताइन्। ‘भोलि काठमाडौंमा घाम लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘देशका अन्य स्थानमा पनि पानी पर्ने सम्भावना छैन।’
काठमाडौंमा रातभर वर्षा
काठमाडौं उपत्यकामा पनि रातभर पानी परेको छ। उपत्यकामा २.५ मिलिमिटर वर्षा भएको मौसमविद् बासीले जानकारी दिइन्।
काठमाडौंमा अहिले बिहान पानी पर्न रोकिएको भए पनि पुनः वर्षाको सम्भावना रहेको उनले बताइन्।
काठमाडौं उपत्यकाको अहिले बिहानको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको मौसमविद् बासीले जानकारी दिइन्।
तराईमा शुक्रबारदेखि हुस्सु/कुहिरो
यतिबेला तराईका पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ।
विशेषगरी पश्चिम तराईमा पानी परिरहेको मौसमविद् बासीले जानकारी दिइन्।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुरु भएपछि मंगलबारदेखि तराई क्षेत्रमा हुस्सु/कुहिरो हटेको छ।
तर भोलि (शुक्रबार)देखि पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुने भएकाले तराईमा फेरि हुस्सु/कुहिरो लाग्ने सम्भावना देखिएको उनको भनाइ छ।
हुस्सु/कुहिरो नलाग्दा तराईका बासिन्दाले कम्तीमा बिहान हुने अत्यधिक चिसोबाट छुट्कारा पाएका थिए। तर दिउँसो घाम नलाग्ने भएकाले दिनमा भने जाडो नै भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २४ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।
राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक-दुई स्थानमा साथै मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
पुस २५ गते शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २६ गते शनिबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
स्राेत : जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया