ad ad

समाज


पत्रकार कुटपिट प्रकरणः पत्रकार र उपमहानगर दुबैले दिए कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

पत्रकार कुटपिट प्रकरणः पत्रकार र उपमहानगर दुबैले दिए कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:५७,

मेयरकै नेतृत्वमा पत्रकारमाथि भएको कुटपिटको घटनाका दोषीलाई कारबाहीको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशान कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

जनकपुरधाम उपमहनगरपालिकामा मेयर लालकिशोर साहकै नेतृत्वमा पत्रकारहरुमाथि भएको कुटपिट घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पत्रकारहरुले प्रशासनलाई ज्ञापन पत्र बुझाएका हुन्।

बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकाहरु जिल्ला प्रशासन पुगी पाँचदिने अल्टिमेटमसहित धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्र बुझाएका हुन्।

पत्रकारहरुमाथि आक्रमण, हुलहुज्जत र उपकरण लुट्नेहरुलाई कानुन बमोजिम कारबाही, घाइते पत्रकारहरुको उपचार खर्च र उपकरणमा भएको क्षतिपुर्ति असुल गर्नुपर्ने, जानकी मन्दिरको फुलबारी अतिक्रणमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतका चार सूत्रीय माग महासंघले गरेको छ।

पाँच दिनभित्र माग पूरा नभए चरणवद्ध आन्दोलनमा जान महासंघ बाध्य हुने समेत महासंघले ज्ञापन पत्रकारमार्फत चेतावनी दिएको छ।

जनकपुरधाम उपमहानगरपालिकामा जानकी मन्दिरको फुलबारी अतिक्रमणको विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि मंगलबार दिउँसो मेयरकै कार्यकक्षमा उनकै निर्देशनमा नगरप्रहरी, कर्मचारी, समर्थक र निजी गुण्डाबाट आक्रमण तथा कुटपिट भएको घटना विषयमा समेत पत्रकाहरुले प्रमुख जिल्ला अधिकारी कणेललाई विस्तृतमा सुनाएका थिए।

नगरपालिकामा जडान भएको सीसीटीभी फुटेज र पत्रकारसँग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरेर कारबाही गर्न पत्रकारहरुले माग गरेका छन्। साथै आफ्नो बचाउको लागि नगरपालिकाले केही महिलामाथि पत्रकारहरुले कुटपिट गरेको भनी लगाएको आरोपको विषयमा समेत छानविन गरी दोषी भए पत्रकारलाई समेत कारबाही गर्न माग गरेको छ।

कुटपिटबाट पत्रकार अमरकान्त ठाकुर, राजा झा, सुभाष कर्ण र सुमति मिश्र लगायतका पत्रकार घाइते भएका छन्।

यता प्रमुख जिल्ला अधिकारी कणेलले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

पत्रकारहरुलाई कुटपिट गरेको घटना मोड्न र आफ्नो बचाउन गर्न नगरपालिकाले आफ्नै केही महिला कर्मचारीमाथि पत्रकारले गुण्डा शैलीमा आएर कुटपिट गरेको आरोप लगाएको छ।

जनकपुर उपमहानगरपालिकाले दोषी पत्रकारहरुलाई कारबाहीको माग गर्दै बिहानैदेखि नगरपालिका कार्यालय अगाडी धर्ना दिइरहेका छन्। उनीरुले प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .