ad ad

समाज


अमेरिकाले दिएको स्काइ ट्रक चढेर बंगलादेश जाँदै प्रधानसेनापति

अमेरिकाले दिएको स्काइ ट्रक चढेर बंगलादेश जाँदै प्रधानसेनापति

दीपक खरेल
पुस २२, २०७६ मंगलबार १२:४५,

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक जहाजमै बंगलादेशको भ्रमण गर्ने भएका छन्। पुस २७ देखि माघ १ सम्मको थापाको औपचारिक बंगलादेश भ्रमणमा अमेरिकी सरकारले सहयोगमा दिएको स्काइ ट्रक एम–२८ प्रयोग हुनेछ।

तत्कालीन प्रधानसेनापति प्यारजंग थापापछि पहिलो पटक पूर्णचन्द्र थापाले सेनाको आफ्नै विमान चढेर विदेश भ्रमण गर्दैछन्।

बंगलादेशका प्रधानसेनापति अजिज अहमदको औपचारिक निमन्त्रणामा ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानसेनापति थापाले एनए–०६४ कलसाइन भएको स्काइ ट्रकमा उडान भर्नेछन्।

अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले प्राप्त गरेका दुई थान स्काइ ट्रक नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पुस २ मा हस्तानान्तरण गरेका थिए। नेपाली सेनाको झण्डा सहितको सैनिक जहाजमा सजिएका दुवै स्काइ ट्रकमध्ये एउटाले पहिलो पटक नेपालबाट तेस्रो देशको उडान भर्न लागेको हो।

यसअघि तत्कालीन प्रधानसेनापति प्यारजंग थापाले त्यतिबेला चालु अवस्थामा रहेको सेनाका एभ्रो विमानमा चढेर २०६० देखि २०६३ का बीचमा नजिकका छिमेकी देशहरुको औपचारिक भ्रमण गरेका थिए।

त्यसपछि प्रधानसेनापति भएका रुक्माङगत कटवाल, छत्रमानसिंह गुरुङ, गौरवशम्शेर राणा र राजेन्द्र क्षेत्रीको कार्यकालमा यो अवसर जुरेन।

६ फागुन २०६८ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित १७ जनाको टोली सेनाको पीजेडएल एम–२८ स्काइ ट्रक विमानमा भारतको पटना गएको थियो। त्यतिबेला बदलिँदो बिहारबारे तीनदिने विश्व सम्मेलनमा विशेष अतिथिको हैसियतमा सहभागी हुन भट्टराई मुख्यमन्त्री नितिश कुमारको विशेष निमन्त्रणामा पटना गएका थिए।

baburam-nitishkumar.jpg

प्रधानसेनापतिको कार्यालय जंगी अड्डाले पुस १६ मा रक्षा मन्त्रालयलाई पत्र लेख्दै प्रस्थान र आगमनको व्यवस्थाका लागि अनुरोध गरेको छ। सैनिक सहायक प्रेम शाहीले रक्षालाई लेखेको पत्रमा पुस २७ को बिहान ११ बजे काठमाडौंबाट उड्ने सो स्काइ ट्रक सोही दिन बंगलादेशको ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उल्लेख छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको मध्य एयर बेसबाट प्रधानसेनापति थापाको टोलीले उडान भर्नेछ। यस्तै माघ १ मा सो टोली ५ बजेर २५ मिनेटमा अवतरण हुनेछ।

प्रधानसेनापति थापाको औपचारिक बंगलादेश भ्रमणको तालिका सार्वजनिक भएको छैन। सैनिक स्रोतका अनुसार बंगलादेश भ्रमणका क्रममा प्रधानसेनापति थापाले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्नेछन्। यस्तै बंगलादेशी सेनाका तीनवटै अंग (स्थल, हवाई र जल) प्रमुखसँग भेटवार्ता र मुख्य युनिटहरुको अवलोकन भ्रमण गर्नेछन्।

२४ भदौ २०७५ मा प्रधानसेनापति नियुक्त भएका थापाको यो तेस्रो औपचारिक सैन्य भ्रमण तथा चौथो विदेश भ्रमण हो।

प्रधानसेनापति थापाले गतवर्ष पुस २७ मै भारतको औपचारिक भ्रमण गरेका थिए। भारतीय सेनाप्रमुख जनरल विपिन रावतको निमन्त्रणामा मानार्थ महारथीको दज्र्यानी लिन उनी भारत गएका थिए।

भारत–नेपाल सैन्य सम्बन्धको ७० वर्ष पुरानो परम्परागत औपचारिकता पूरा गर्दै प्रधानसेनापति थापाले भारतीय स्थल सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी चिन्ह प्राप्त गरेका थिए। थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले दज्र्यानी चिन्ह प्रदान गरेका थिए।

भारत भ्रमणमा थापाले जयपुरस्थित दक्षिण–पश्चिमी कमान्ड र लखनउस्थित केन्द्रीय कमान्डको मुख्यालयको निरीक्षण भ्रमण गरेका थिए। यो भ्रमणको समाप्तिमा थापालाई लिन नेपाली सेनाको हेलिकोप्टर लखनउसम्म पुगेको थियो।

प्रधानसेनापति थापाले भारतपछि २०७६ असारमा चीनको औपचारिक भ्रमण गरे। चीन भ्रमणमा थापाले चिनियाँ समकक्षीसहित जनमुक्ति सेनाका उच्च अधिकारीहरुसँग भेटवार्ता र द्विपक्षीय सम्बन्ध र सैन्य सहयोग विस्तारसम्बन्धी विषयमा छलफल गरेका थिए।

चीनपछि असार अन्तिममा थापाले अमेरिकाको भ्रमण गरे। यो भ्रमण औपचारिक भएपनि सैन्य भ्रमण थिएन। थापा सेनापतिहरुको सम्मेलनमा सहभागी हुन गएका थिए। सम्मेलनमा १ सय ६ देशका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकृतहरुको सहभागिता थियो। थापाले सोही क्रममा संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .